काठमाडौं । नेपाल चेम्बर अफ कमर्स आबद्ध नेपाल महिला चेम्बरले इजरायलका लागि नेपाली राजदूतमा नियुक्त भएकी राजदूत डा. अन्जान शाक्यलाई हार्दिक बधाई तथा बिदाई समारोहको आयोजना गरेको छ ।
डा. शाक्यको बिदाईपछि महिला चेम्बरको नेतृत्व उर्मिला श्रेष्ठलाई दिइएको छ ।
परराष्ट्र मामिलामा सक्रिय शाक्यलाई बिदाईका सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षद्वय दिपक मल्होत्रा र कमलेश कुमार अग्रवालले महिला चेम्बरमा सक्रिय महिलाहरुलाई सदस्यता प्रदान गरेका थिए ।
यही अवसरमा डा. अन्जानका बुबालाई समेत सम्मान गरिएको थियो । उक्त्त विशेष समाहरोमा चेम्बरका अध्यक्ष श्रेष्ठले डा. शाक्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै उनको कार्यकालले नेपाल तथा इजरायलको सम्बन्धलाई प्रगाढ र सुमधुर बनाउनमा विश्वस्त भएको कुरा प्रकट गरे ।
डा. शाक्य राजदूत भएकोमा एक कर्मठ लगनशिल र योग्य महिलाको मूल्याङकन तथा कदर भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
महिला चेम्बरकी नयाँ अध्यक्ष उर्मिला श्रेष्ठ र उपाध्यक्ष सुषमा शर्मालगायत पदाधिकारी तथा सदस्यहरुले पनि महिला चेम्बर परिवारका तर्फबाट राजदूत डा. शाक्यको सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
राजदूत डा. शाक्यले सबैसँग काधमा काध मिलाउँदै नेपाल इजरायल सम्बन्धलाई सुमधुर बनाउनुका साथै दुवै देशबीचको व्यापार, संस्कृति, प्रविधि, कृषिलगायतका क्षेत्रमा जोडदार योगदान दिने बचनबद्धता प्रकट गरिन् ।
इजरायलका लागि नेपाली राजदूतमा बनेकी शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधी गरेकी छन् । शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको अनुभव छ ।
शाक्यले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेकी छन् । उनले ‘नेपाल चाइना रिलेशन’, ‘नेपाल इण्डिया रिलेशनल’लगायत पुस्तकको सम्पादन गरेकी छन् । शाक्यसँग लामो समय पद्मकन्या कलेजमा प्राध्यापन गरेको अनुभवसमेत छ ।
शाक्य चर्चित गायिका साथै नेपाल टेलिभिजनकी समाचार प्रस्तोतासमेत समेत हुन् । उनले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ लगायतका चर्चित गीत पनि गाएकी छिन्।
प्रतिक्रिया