Logo

कृषि / सहकारी

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो


GDP नेपाल
   ८ चैत्र २०७९, बुधबार


आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ ।

गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ । “बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

पालिकामा एक किसानले कम्तीमा तीनदेखि चार हजार बोरा आलु उत्पादन गर्छन् । उत्पादित आलु भण्डारण गर्न अहिले कोहलपुस्थित शीतभण्डारमा लैजाने गरिएको छ ।

सात सय मेट्रिक टन आलु भण्डारण क्षमता भएको शीतभण्डारमा आलु बीउ, तरकारी खाने आलु र दैनिक बिक्री गर्न लैजाने आलुको भण्डार गर्ने लक्ष्यसहित स्थापना गर्न लागिएको हो ।

बीउ आलुका लागि दुई सय मेट्रिक टन, र बाँकी बिक्रीका लागि रहने आलु भण्डारण गरिनेछ । “आगामी दशैँसम्ममा शीतभण्डारको काम हुने र अबको सिजनको आलु भण्डारण गर्न मिल्ने गरी निर्माण भइरहेको छ”, उहाँले भननुभयो ।

शीतभण्डार निर्माणसँगै किसानले आलु भण्डारण गर्न कोहलपुरलगायतका ठाउँमा लैजाने अवस्थाको समेत अन्त्य हुने उहाँको विश्वास छ ।

शर्माले यो वर्ष पनि बजेट कटौती भए पुनः सम्झौता भएको म्याद थप हुने उल्लेख गर्दै ट्रष्ट राखेर उपकरण जडानलगायतका काम बाँकी रहेको बताउनुभयो ।

सम्झौता भएको दुई वर्षमा निर्माण सक्ने गरी २०७९ असार १७ मा ठेक्का सम्झौता भए पनि अहिलेसम्म ट्रष्ट निर्माणको कामसमेत पूरा नभएको पारामाउण्ट नेचुरल जेभी काठमाडौँका प्रमुख कमल अधिकारीले जानकारी दिनुभयो । उहाँले ट्रष्ट निर्माणको काम केही भएको र ट्रष्ट निर्माणको काम भारतीय कम्पनीले लिएको बताउनुभयो । डुडुवा गाउँपालिकाको रू पाँच करोड ८९ लाख २८ हजार पाँच सय ५२ मा शीतभण्डार निर्माण गर्न लागिएको हो ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०८० असार १९ मा निर्माण पूरा गरी डुडुवा गाउँपालिकालाई बुझाउनु पर्नेछ । तर, तोकिएको समयमा निर्माण पूरा गर्न नसकिने निर्माण कम्पनीले जनाएको छ ।

“तोकिएको समयमा निर्माण पूरा हुने सम्भावना छैन, कम्तीमा चार महिना समय थप गर्नुपर्ने देखिन्छ”, निर्माण कम्पनीका प्रमुख अधिकारीले भन्नुभयो ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह