Logo

कर्पोरेट-बजार

स्वदेशमै रोजगारीको अवसर खोजी गर्न मेला आयोजना गरिएको हो: अध्यक्ष ढकाल


GDP नेपाल
   १६ जेष्ठ २०८०, मंगलबार


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले काठमाडौंमा पहिलो पटक रोजगार मेला आयोजना गरेको र यसले कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन सहयोय पुर्याउने बताएका छन् ।

महासंघले आयोजना गरेको उक्त मेलाले नयाँ अवसरहरुको खोजी गर्न सघाउनुका साथै आवश्यक सिप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उनको भनाई छ । ‘रोजगार मेला हाम्रो पहिलो प्रयास हो । यसलाई सफल पार्न यहाँहरु सवैको उत्तिकै सहयोग र मेहनतको अपेक्षा हामीले गरेका छौं,’ उनले भने, ‘महासंघले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आइएलओको सहयोगमा यो कार्यक्रम आयोजना गर्न पाएकोमा हामीलाई निकै खुशी लागेको छ ।’

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको एक अभिन्न अंग भएको बताउँदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदानका विषयमा महासंघले अन्तरराष्ट्रिय वित्त निगमसँग मिलेर केही दिन अघिमात्रै अतिनै महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिए । ‘हामीले निजी क्षेत्रको सम्मानको बिषय शुरुदेखि नै उठाइरहेका छौ,’ उनले भने, ‘निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्नेकुरालाई उक्त प्रतिवेदनले पुष्टि गरेको छ ।’ साथै अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत भन्दा बढी रहेको देखाएको जानकारी दिँदै ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको बताए ।

केही वर्ष यता विभिन्न कारण निजी क्षेत्रले सहजरुपमा काम गर्न नपाउदा उद्योग व्यवसाय विस्तार हुन नसक्नुका साथै भएका उद्योग व्यवसाय पूर्ण रुपमा संचालन हुन नसकेको उनको भनाई थियो । जसले गर्दा रोजगारीमा ठूलो प्रभाव पर्दा कामका लागि विदेशीनेको संख्या ह्वात्तै बढ्यो । नेपालमा दक्ष जनशक्ति नपाउंदा उद्योग व्यवसायमा भारत लगायतका देशबाट कामदार ल्याउनु परेको उनले जानकारी दिए ।

अबका दिनमा महासंघले उक्त समस्या संवोधन गर्ने प्रयासको थालनी गरीसकेको बताउँदै त्यसका लागि उद्योगहरुको आवश्यकता अनुसारको कार्यस्थलमा आधारित सिप विकास तालीम सूरु गरिसकेको उनले जानकारी दिए । त्यसैका लागि कामको खोजीमा रहेका यूवाहरु र काम गर्ने जनशक्ति खोजीरहेका उद्योग व्यवसाय कम्पनीहरुलाई एकै ठाउंमा भेला गराएर रोजगारदाताको आवश्यकता अनुसारको जनशक्ति उपलव्ध गराई दिने रोजगार मेलाको सुरुवात गरिएको उनको भनाई थियो
यसअघि महासंघले आइएलओको सहयोग र स्थानीय सदस्य उद्योग वाणिज्य संघहरुको सहकार्यमा केही दिन अघिमात्र वीरगन्ज र बुटवलमा रोजगार मेला सम्पन्न थियो । महासंघको यी सवै प्रयासमा आईएलओको निकै ठूलो सहयोग र दरिलो साथ रहेको छ । साथै रोजगार मेलाहरुको आयोजनाबाट मुलुकभित्र काम खोजीरहेका जनशक्तिको तथ्यांक र उद्योग व्यवसायले खोजीरहेको जनशक्ति तथ्यांक पत्ता लगाउन सहयोग गर्नुका साथै यस्ता कार्यक्रमले राष्ट्रलाई नै ठूलो सहयोग पुरयाउने अध्यक्ष ढकालले जानकारी दिए ।

महासंघले काठमाडौंमा आयोजना गरेको मेलाले जनशक्तिको अवस्था,उद्योग प्रतिष्ठानहरुले खोजेको जनशक्ति र जनशक्ति विकासमा गर्नुपर्ने तयारी लगायतका विषयमा आगामी योजना तथा कार्यक्रम वनाउन समेत थप सहयोग ढकालले बताए ।

‘मुलुककै प्रमुख समस्याको रुपमा रहेको सिपयुक्त जनशक्तिको अभावलाई संवोधन गर्न स्वदेशी उद्योगधन्दाका लागि आवश्यक जनशक्ति विकास गर्ने हाम्रो अभियानलाई सफलरुपमा दिशा निर्दिष्ट गर्न आजको कार्यक्रम फलदायी हुने मैले ठानेको छ’ उनले भने, ‘त्यसका लागि महासंघले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीहरुको मनोवल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कार्यक्रम अघि बढाएको छ ।’

रोजगार मेलाको मुख्य थीम नै कनेक्टिङ डट्स अफ युअर फ्युचर भनेर राखेका बताउँदै यसले यूवाहरुको भविष्यको चाहना र अपेक्षाका विन्दूहरुलाई जोड्ने बताए । साथै आगामी दिनमा महासंघका सदस्यहरुको सहयोग र सहकार्यमा मेलालाई क्यालेण्डर इभेन्टको रुपमा समेत अगाडी बढाईने उनले जानकारी दिए ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह