नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले यही जेठ १९ गते ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘झ’ नामक ऋणपत्र जारी गर्ने भएको हो।
यो ऋणपत्र जेठ १८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।
यो ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने बैंकले जनाएको छ। ऋणपत्र २०८५ जेठ १९ गते परिपक्व हुनेछ। यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ।
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु. ८.५ अर्ब र रु. १.५ अर्ब छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया