Logo

मुख्य समाचार

सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा: अर्थमन्त्री डा महत


GDP नेपाल
   १७ जेष्ठ २०८०, बुधबार


अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता दिएको छु । ”
 
नेपाल आर्थिक पत्रकार समाजले आज यहाँ आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उहाँले पुँजीगत खर्चलाई प्रभावकारी बनाउनका लागि बुँदागत रुपमै घोषणा गरेको र यसको कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । पुँजीगत खर्चको कार्यान्वयन राम्रो भयो भने वैदेशिक सहयोग पनि बढ्ने र यसले गर्दा स्रोतमा केही सहज हुने अर्थमन्त्री डा महतको भनाइ थियो ।
 
उहाँले कर निर्धारणमा आफूले अर्थतन्त्र तथा निजी लगानीलाई केन्द्रमा राखेर गरेको जनाउँदै राजस्वका कुनै पनि दरको हेरफेर कुनै पनि स्वार्थ प्रेरित नभएको प्रस्ट पार्नुभयो । विद्युतीय गाडीमा भएको हेरफेरले उभोक्तालाई निरुत्साहित नगर्ने उहाँको भनाइ थियो ।
 
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले नेपाली अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको बताउनुभयो । यो बजेट घाटाका कारणले गर्दा आन्तरिक ऋण बढ्दै जाने र यसले गर्दा फेरि मौद्रिक बजारमा असर गर्ने अधिकारीको भनाइ छ ।
 
अहिले नै दुई सय ७१ अर्ब बजेट घाटा पुगिसकेको उल्लेख गर्दै उहाँले यसको असर आन्तरिक ऋणमा देखिएको र जति धेरै घाटा बढ्छ त्यति ऋण विस्तार हुने उल्लेख गर्नुभयो ।
 
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले २०६३ सालपछिको शासकीय अभ्यासका कारणले गर्दा अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको र त्यसको असर अहिले झन् बढ्दै गएको उल्लेख गर्नुभयो । उत्पादनभन्दा पनि वितरणमुखी कार्यक्रममा प्रतिस्पर्धा भएकाले यस्तो अवस्था आएको उहाँको भनाइ थियो ।
 
ऋण लिनका लागि ऋण लिनुपर्ने, विकास निर्माणका लागि बजेट घटाउँदै जानुपर्ने, साधारण खर्चको दायित्व बढ्दै जाने अवस्था अहिले रहेको र सुधार जतिसुकै भने पनि आगामी वर्षको बजेट यही अवधारणामा आएको उहाँको टिप्पणी थियो ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह