Logo

कृषि / सहकारी

परम्परागत बाली छाडेर ओखर खेती


GDP नेपाल
   ११ असार २०८०, सोमबार


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि यहाँका किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् ।
 
जैमिनी नगरपालिका–३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरुपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताउनुभयो । उहाँले मकै र कोदो लगाए पनि राम्रो उत्पादन नहुँदा मेहनत मात्रै खेर गएको बताउनुभयो । 
 
स्थानीय प्रेमबहादुर छन्त्याल र खिमबहादुर छन्त्यालले पनि मकै र कोदो उत्पादनबाट फाइदा लिन नसकेपछि वैकल्पिक खेतीको जोहो गर्नुभएको थियो । उहाँहरुले केही बारीमा आलु लगाउनु भएको थियो भने धेरै बारी बाँझो बन्न थालेको थियो । गाउँबाट सहर जाने, बसाइँ सर्ने, गाउँमा गोरु नपाउने, गाईभैँसी पाल्नेको कमी हुँदा मल कम भएकाले उत्पादन घटेको उहाँहरुको भनाइ थियो । 
 
“दैनिक स्याहार गर्ने खेतीपाती लगाउन नसकेकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाएको हो”, प्रेमबहादुरले भन्नुभयो, “मेरो बारीमा भएका दुई वटा बोटमा लटरम्म फलेको छ । व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।” उहाँका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाउनुभएको हो ।
 
यहाँका किसानले गठन गरेको ‘छन्त्याल कृषक समूह’मा आबद्ध भएका तीन भाईले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् । एक हजार दुई सय बिरुवा रोप्नका लागि रू १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले रू १० लाख अनुदान दिएको र बाँकी रकम तीन भाइले खर्च गरेका परियोजनाका प्रमुख सुजित पौडेलले बताउनुभयो । उहाँका अनुसार बिरुवा रोप्न परियोजनाले अनुदान दिएको छ भने खाडल खन्ने, मल, घेराबारको सुरक्षा, सरसफाइ र सिञ्चाइलगायत कामका लागि तीन भाइले रू सात लाख खर्च गरेका छन् ।
 
परियोजनाले कृषि फसलको ब्लक र जोन बनाएर ओखर उत्पादनलाई जोड दिएको पौडेलको भनाइ छ । “परम्परागत कृषिभन्दा फरक खेती गरेर धेरै उत्पादन आउने काममा हामीले साथ दिएका छौँ”, उहाँले भन्नुभयो, “सात वर्षसम्म ती ब्लक र जोनमा समूह र व्यक्तिगत फार्ममा साथ दिने परियोजनाको योजना छ ।” थप चार वर्ष प्राविधिक सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
 
जुम्लाबाट झिकाइएका ओखरका बिरुवा रोपेर अहिले नौलाको बाँझिएको खरबारी र बस्न छाडेको घरबारीसमेत हरियाली भइसकेको छ । ओखरका बिरुवा तीन वर्षमा फल्न सुरु गर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द शर्माले बताउनुभयो । “कलमी बिरुवा भएकाले यो वर्ष पनि एक÷दुई दाना लागेको थियो, तर टिपेर फालिदिनु भनेका थियौँ”, उहाँले भन्नुभयो, “तीन वर्षपछि मात्र फल राखियो भने गुणस्तरको फल्छ ।” छन्त्याल समूहमा आबद्ध धेरै किसान छन् । 
 
उहाँहरुमध्ये तीन जनाले ओखर खेती सुरु गर्नुभएको राखिएको शर्माले जानकारी दिनुभयो । “अरु किसानमध्ये केहीले बाख्रा पालनमा र केहीले आलु खेतीमा अनुदान पाएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार बाख्रामा परियोजनाले सहयोग गरेको छ भने आलुमा नगरपालिकाले लगानी गरेको हो । 
 
आलु खेतीका लागि नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिनुका साथै किसानको बीउ, बजारीकरणलगायत काममा नगरपालिकाबाट प्राविधिक सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ ।
 
हाल लगाएको ओखरका एक हजार दुई सय बिरुवामध्ये एक÷दुई वटा मात्र मरेको, सबै सरेर हरियाली बनिसकेकाले अरु बिरुवा पनि थप्ने योजना रहेको खिमबहादुर छन्त्यालले बताउनुभयो । नौला गाउँको माथिल्लो बस्तीको जमिन ओखर खेतीका लागि उपयुक्त रहेको कृषि प्राविधिकको भनाइ छ ।

प्रकाशित : ११ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह