Logo

मुख्य समाचार

बाढी, पहिरोपछिको पुनःनिर्माणका काम छिट्टै अघि बढ्छ: प्रधानमन्त्री


GDP नेपाल
   ३० आश्विन २०८१, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताएका छन् ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने जानकारी गराए ।

प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रुपमा सडक सञ्चालनमा आएको पनि उल्लेख गरेका छन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसमेत सहभागी कार्यक्रममा उहाँले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिँदै उनले फलाम खानी खुल्ने क्रममा रहेकाले सञ्चालनमा आएपछि बेलिब्रिजलगायत फलामका कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने बताए ।

टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुुई वर्ष नपुुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको प्रधानमन्त्री ओलीलाई अवगत गराएको छ ।
टोलीमा प्रतिनिधिसभा सदस्यहरु रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत रहेका थिए ।

प्रकाशित : ३० आश्विन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह