काठमाडौं । पेट्रोलियम कारोबार गर्ने पूर्ण सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको चुक्ता पुँजी ११ अर्ब मात्र छ । तर, यो कम्पनीले गत आर्थिक वर्षमा मात्र ४९ अर्ब रुपैयाँ नाफा कमाएको छ ।
निगमले आर्थिक वर्ष २०७९/८० मा ४९ अर्ब नाफा कमाए पनि नाफाको ६३.२६ प्रतिशत अर्थात ३१ अर्ब भने बक्यौता तिर्नमा खर्च गरेको छ । बक्यौता चुक्तापछि पनि निगमको खुद नाफा भने १८ अर्ब रुपैयाँ छ ।
यसरी निगमले चुक्ता पुँजीभन्दा साढे चार गुणा बढी नाफा कमाएको छ । निगमले चुक्ता पुँजीभन्दा ४.४५ गुणा बढी नाफा कमाएको हो । निगमको विस्तृत लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भइनसके पनि यसको खुद नाफा नै चुक्ता पुँजीको ६३.६३ प्रतिशतले बढी छ ।
अन्तर्राष्ट्रिय बजारमा गत आवको सुरुदेखि नै पेट्रोलियम पदार्थको भाउ घट्दै गए पनि निगमले गत आवमा उल्लेख्य रुपमा मूल्य समायोजन गरेन । सोही कारण अत्यधिक नाफा गर्दै नाफाखोर सरकारी कम्पनीका रुपमा यसले बदनामी कमाउँदै आइरहेको छ ।
प्रतिक्रिया