अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कर्ल्स नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे सम्पन्न भएको छ ।
सभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णु कुमार अग्रवाललाई नयाँ डिनका रुपमा नियुक्त गरेको छ । उप-राष्ट्रपति रामसाहय प्रसाद यादवको प्रमुख आतिथ्यता तथा परराष्ट मन्त्री एनपी साउदको विशिष्ट अतिथ्यतामा सम्पन्न सभाले नयाँ डिनमा अग्रवाललाई नियुक्त गरेको हो ।
सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाल सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नती भएका थिए । हालै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् । उनीे सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वर्ल्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मानित समेत भएका थिए ।
कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कर्ल्सले पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गरे ।
“आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्टसँग सुमधुर सम्बन्ध बनाई राख्नु आजको आवश्यकता हो। यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौं,” उपराष्ट्रपतिले भने , “नेपालमा लगानीका सम्भावना भएको क्षेत्रहरु धेरै छन् । विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्टसँग समन्वय गर्न आवश्यक छ ।”
त्यस्तै, परराष्टमन्त्री साउदले एचसीसीएनका सदस्य मुलुकहरुलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे। मन्त्री साउदले दौत्य सम्बन्ध कायम भएका देशहरुको प्रतिनिधित्व गर्दै गरेका निस्वार्थ सेवा कार्यहरु र नेपालको ब्यापार तथा पर्यटन प्रवर्द्धनमा खेलेको भूमिको प्रशंसा गर्दै एचसीसीएनका सदस्यहरुबाट प्रदान गर्ने सेवालाई सहज गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरुले आफ्नो जिम्मेबारी निर्वाह गरिरहेको बताए । यस्तै, नेपाल भ्रमणमा रहेका एचसीसीएन सम्बन्ध नागरिकको सुरक्षा र हेरचाहमा कुनै कमी नआउने श्रेष्ठले जनाए ।
“प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तार तथा दिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन हामीले भूमिका निर्वाह गरिरहेका छौँ ” श्रेष्ठले भने, “हाम्रो जिम्मेबारी निर्वाह गर्न महत्वपूर्ण सहयोग गर्नु भएकोमा म परराष्ट मन्त्रालयलाई आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं । हाम्रो निस्वार्थ सेवालाई सहज बनाउन आवश्यक सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छौं ।”
कार्यक्रममा एचसीसीएनका नवनियुक्त डिन श्री विष्णु कुमार अग्रवालले धन्यवाद ज्ञापन गर्दै राष्ट्रलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मबारीलाई निर्वाह गर्दे आएकाे जनाए । यस्तै, २०७२ को विनाशकारी भूकम्प र कोभिड जस्तो महामारीका बेलामा पनि एचसीसीएन सदस्यहरुले आफूले प्रतिनिधित्व गर्ने मुलुकका नागरिकको उद्धार र सुरक्षित रुपमा आफ्नो मुलुकमा फर्काउन मद्दत गरेको उल्लेख गरे ।
“एचसीसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रुपमा काम गर्दै आएको छ । म परराष्टमन्त्री ज्यूलाई एचसीसीएनलाई परराष्ट मन्त्रालयले आफ्नो महत्वपूर्ण अंगका रुपमा लिएर पर्यटन, वैदेशिक लगानी, स्वदेशी उत्पादनको प्रवर्द्धन, द्विपक्षीय सम्बन्धको विस्तारलाई अझ बढावा दिन आग्रह गर्न चाहन्छु ” उनले भने ।
प्रतिक्रिया