Logo

Banner-news

प्रधानमन्त्रीका विश्वासपात्र खरेलको करोडौं घोटाला योजनामा लेखा समितिको अंकुश !


GDP Nepal
   ११ फाल्गुन २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिएका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले ठूलो आर्थिक लाभका लागि अघि बढाएको एउटा योजनामा संसदको सार्वजनिक लेखा समितिले अंकुश लगाएको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एयरबस ए ३२० को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ । यससँगै खरेलको योजना पूरा नहुने भएको हो ।

खरेलले यसअघि महाप्रबन्धक सुगतरत्न कंसाकारले अघि बढाएको बोलपत्र रद्द गरी आफूखुसी नयाँ बोलपत्र आह्वान गरेका थिए । उनले सञ्चालक समितिबाट निर्णय नगरी आफैं रद्द गर्ने निर्णय गरेकोमा सांसदहरुले अनियमितताको आशंका गर्दै तत्काल अघि नबढाउन निर्देशन दिएका हुन् ।

समितिमा शुक्रबार भएको छलफलमा सभापति भरतकुमार शाहले यस सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि बोलपत्र खुल्ला नगर्न निर्देशन दिए । बोलपत्र शुक्रबार नै खोल्ने निगमको कार्यतालिका थियो ।

बैठकमा सांसदहरुले कम मूल्यमा बोलपत्र हाल्नेलाई पन्छाएर बढी मूल्य कबोल गर्नेलाई दिन लागेकाप्रति आपत्ति जनाएका थिए ।
सांसद विरोध पाठकले पुरानो टेन्डर रद्द गर्ने नियतमा शंका उत्पन्न भएको बताए ।
सांसद सूर्य पाठकले निगममा लोडरको काम गर्नेले पनि ‘ठूलाले खाने जहाज, सानाले खाने कागज’ भनेको प्रसङ्ग कोट्याउँदै कम मूल्य कबोल गर्नेलाई छनोट नगर्ने हो भने बोलपत्रको प्रक्रिया किन गरेको भनी प्रश्न गरे ।

सांसद मीना सुब्बाले निगमकै आर्थिक नियमावलीअनुरुप पनि ठेक्का प्रक्रिया अघि नबढेको प्रति टिप्पणी गरिन् ।
चार कम्पनीले मर्मतका लागि ठेक्का हालेकामा बढी कबोल गर्ने कम्पनीलाई दिने गरी तयारी गरिनु आपत्तिजनक रहेको उनको भनाइ छ ।

सांसद प्रेम आलेले १ अर्ब ५३ करोड राज्यलाई घाटा हुनेगरी जाहाज मर्मत गर्ने कम्पनीको नाम छनोट गर्न नहुनेमा जोड दिए ।

खरेलले नियम कानूनभित्रै रहेर बोलपत्रको प्रक्रिया अघि बढाइएको दाबी गरे ।

प्रकाशित : ११ फाल्गुन २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह