काठमाडौं । नेपाल भ्रमणका क्रममा अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले व्यक्त गरेको धारणाप्रति उत्तरी छिमेकी चीनले गम्भीर आपत्ति जनाएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सार्वजनिक मञ्चबाट तथा छुट्टै पत्रकार सम्मेलन गरेर एकैदिन अमेरिकी रवैयाप्रति कडा आपत्ति जनाएकी हुन् ।
चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्समा नेपालको संलग्नताप्रति दक्षिणी छिमेकी भारत र अमेरिका दुवै खुसी छ्रैनन् ।
चिनियाँ राजदूत होउ यान्छीले बेल्ट एन्ड रोड इनिसिएटिभ्सबारे अमेरिकी उपसहायक रक्षामन्त्रीको टिप्पणीभित्र हिडन इन्ट्रेस्ट रहेको बताएकी छन् । अमेरिकी मन्त्रीले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेट तथा पत्रकारहरुसँग चिनियाँ लगानीबारे प्रश्न गरेको भोलिपल्टै चिनियाँ राजदूतको प्रतिक्रिया आएको हो ।
नेपालमा चिनियाँ राजदूतको धारणा पहिलोपटक यति कडा रुपमा आएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन भाषणमै आपत्ति जनाएकी उनले पत्रकार सम्मेलनमा दशकौंदेखिको सम्बन्ध रहेको नेपालसँगको सम्बन्धलाई असर गर्ने गरी टिप्पणी आउनु गलत भएको बताइन् ।
उनले भनिन्– यस्तो टिप्पणी आउनुमा कुनै स्वार्थ लुकेको हुन सक्छ, यदि अमेरिका नेपाललाई सहयोग गर्न चाहन्छ भने लगानी गरोस् तर चीनबारे नकारात्मक टिप्पणी नगरोस् । नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका छिमेकी देश हुन् । धेरै टाढा भएको देशले बोल्छ मात्र काम गर्दैन, दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टिकाटिप्पणी गर्नु हुँदैन ।
राजदूतले चीनले आफ्नो स्वार्थ हेरेरभन्दा नेपाल सरकारले प्रस्तुत गरेका विकास आयोजनाहरुमा मात्र काम गर्ने गरेको बताउँदै चीन सदैव आफ्नो स्वार्थभन्दा पनि नेपाल र नेपाली जनताको स्वार्थका पक्षमा रहेको बताइन् ।
प्रतिक्रिया