काठमाडौं । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेहरु अन्ततः जिल्लिएका छन् । विगतमा जस्तै महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले अनावश्यक रुपमा होल्ड गर्नेहरुको पनि उद्देश्य पूरा नहुने भएको छ ।
सरकार र ग्यास व्यवसायीबीच आयात सुचारु गर्ने समझदारी भएसँगै खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण सञ्चालन हुने भएको छ ।
नेपाल आयल निगम र आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग संघबीच मंगलबार अबेर भएको समझदारीअनुसार ग्यास उद्यमी÷व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगन गरेका छन् ।
निगमबाट एलपी ग्यासका पिडिओ खरीद गरी एलपी ग्यासको बिक्री वितरण सञ्चालन गर्ने भएको हो ।
संघको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा निगम र संघका पदाधिकारीबीच छलफल भई तीनबुँदे समझदारी भएको हो ।
उद्योगी–व्यवसायीका मागका सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्ने सम्झौतामा उल्लेख छ ।
त्यस्तै आपूर्ति मन्त्रालयले एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्ग्चित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र सङ्घका अध्यक्ष गोकुल भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया