Logo

Sub-banner

आईएमएफको मिसन टोली र सिबिफिनबीच भेटवार्ता


GDP नेपाल
   १५ आश्विन २०८०, सोमबार


अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रतिनिधि टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन)को पदाधिकारीबीच राजधानीमा भेटवार्ता भएको छ ।

आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा यस अघि नै तय गरिएको उक्त भेटघाटका क्रममा चालू मौद्रिक नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन र आर्थिक एवं बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयहरुमा सघन छलफल भएको सीबीफीनले जनाएको छ ।

भेटघाटका क्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरुमा आईएमफसँग निरन्तर छलफल तथा संवाद भइरहेको स्मरण गर्दै अध्यक्ष गोल्यानले नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवं व्यवहारिक पक्ष र विकास साझेदार संस्थाहरुको भूमिकाका विषयमा प्रकाश पारेका छन् ।

मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका प्रतिनिधिहरुले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वभाविक भएको बताउँदै नेपाल सरकारले तत्काल सुधारका कदमहरु चाल्न आवश्यक रहेको बताए ।

उनले नेपाल जस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरुको संभावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरे ।

मिसन टोलीको जिज्ञासा मेट्दै सिबिफिनका अध्यक्ष गोल्यानले नेपालको कृषि, वनपैदावर, उर्जा, पयर्टनलगायतका क्षेत्रहरुमा देखिएका अथाह संभावनालाई ध्यान दिँदै नेपाल सरकार तथा मातहतका नियामक निकायहरुले मैत्रीपूर्ण नीति र वातावरण बनाइ समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्ने उल्लेख गरे ।

त्यसैगरी दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले पनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थाहरुमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न अध्यक्ष गोल्यानले टोलीसमक्ष आग्रह गरे ।

सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्र प्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरुको सामना गरिरहेको भएतापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय–सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामथ्र्य बैंकिङ क्षेत्रमा रहेको विश्वास व्यक्त गरे ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह