काठमाडौं । भक्तपुर नगरपालिकासँगको समन्वय र भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा हुन लागेको भक्तपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ ।
भक्तपुरको महेश्वरी खेल मैदानमा आजदेखि सुरु भएको महोत्सव पौष २ गतेसम्म चल्ने छ ।
आयोजकका अनुसार महोत्सव अन्र्तगत मुख्य ३२ ठाउँमा प्रदर्शनी हुने र महेश्वरी खेल मैदानमा व्यापार मेला हुने छ ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिनेछन् । त्यसका लागि भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र र क्वाठण्डौमा प्रस्तुतिको विशेष व्यवस्था मिलाएको छ । ६ वटा बाजा विधाका १०१ वटा सांस्कृतिक समूहले नगरको प्रदक्षिणा मार्ग परिक्रमा गरी प्रस्तुत गर्नेछन् । त्यस्तै भक्तपुर नगरक्षेत्रका ३४ समूह, भक्तपुर जिल्लाका अन्य नगरपालिकाबाट ५ समूह र भक्तपुर जिल्ला बाहिरका अन्य जिल्लाबाट ८ समूह गरी जम्मा ४७ वटा बासुरी बाजा समूहबीच प्रतियोगिता हुनेछ । ती बाजा टोलीहरूमध्ये मंसिर २९ गते ३३ वटा समूहको प्रस्तुति र मंसिर ३० गते बाकी १३ वटा समूहको प्रस्तुतिको व्यवस्था मिलाएको छं । प्रतियोगिताको पुरस्कार वितरण मंसिर ३० गते काठमाडौंमा गरिने छ ।
प्रसिद्ध ५५ झ्याले दरबारमा नेवार समुदायको परम्परागत पौभा चित्र प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा तस्वीर प्रदर्शनी, २ स्थानमा चित्रकला प्रदर्शनी र लायकुमा छ्वालीकला प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा नेवार समुदायको परम्परागत पोशाक प्रदर्शनी र बिक्रीवितरण तथा दत्तात्रय, लायकु र टौमढीमा नेवारी पोशाक बहालमा लिई फोटो खिच्ने व्यवस्था मिलाएको छ ।
व्यापार मेलामा झन्डै १ सय स्टल रहने र जसमा व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्री, विभिन्न लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकला सामग्री प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामग्रीहरु राखिने आयाकजले जनाएको हो छ ।
प्रतिक्रिया