Logo

Banner-news

ओली र पुनद्वारा त्रिशूलीको १० हजार कित्ता सेयर आवेदन, सर्वसाधारणले के गर्लान् ?


GDP Nepal
   ७ चैत्र २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनले त्रिशूली थ्री बीको क्रमशः १० हजार र १ हजार कित्ताका लागि आवेदन दिएका छन् । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत त्रिशूलीको सेयर आवेदन खुलेको पहिलो दिन नै दुवैले आवेदन दिएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा १० हजार कित्ता शेयरका लागि आवेदन दिएर शेयरको शुभारम्भ गरेका छन् । जनताको जलविद्युत् कार्यक्रम गत फागुन २ गते प्रधानमन्त्रीबाटै उद्घाटन भएको थियो ।

प्रधानमन्त्री र ऊर्जामन्त्रीले उत्साह जगाउन सेयर आवेदन गरे पनि सो कम्पनीको सेयरप्रति लगानीकर्ता भने त्यति उत्साहित छैनन् । यसर्थ, सबै सेयर पहिलो चरणमै बिक्री हुने हो कि हैन भन्ने आशंका छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताए ।

ओलीले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिने बताए ।

उनले भने, नेपाल ऊर्जाको धनी देश हो । पानीको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता आयोजना सफल बनाउनुपर्छ । यसमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई म आग्रह गर्दछु ।

प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटनजस्ता क्षेत्रमा पनि जनताको लगानी जोडेर देशलाई आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे ।

प्रकाशित : ७ चैत्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह