Logo

अर्थनीति

अर्थतन्त्र सुध्रेको दावी हावादारी: छ महिनामा बजेटघाटा नै ४८ अर्ब ४६ करोड


gdpnepal
   १ माघ २०८०, सोमबार


काठमाडौं ।अर्थतन्त्र सुध्रिएको सरकारी दावी अन्ततः झुट सावित भएको छ । सरकारकै तथ्याङ्कले यसअघि अर्थमन्त्रीले गरेको दावी गलत रहेको पुष्टि गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ । 

चालु आवका लागि सरकारले कूल रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रु पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर हो । छ महिनामा कर राजश्वतर्फ ३३ दशमलव ९८ प्रतिशत अर्थात् रु चार खर्ब ४३ अर्ब ५५ करोड २० लाख उठेको छ ।

गैरकरतर्फ वार्षिक लक्ष्यको ४५ दशमलव २३ प्रतिशत अर्थात् रु ५२ अर्ब ९४ करोड ७८ लाख बराबर असुली भएको छ ।
चालु आवका लागि कूल रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।

चालु आवका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा पुस मसान्तसम्ममा रु पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ३२ दशमलव ३५ प्रतिशत बराबर हो ।

चालुगत शीर्षकमा कूल रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ३८ दशमलव ३१ प्रतिशत अर्थात् रु चार खर्ब ३७ अर्ब ३८ करोड १२ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ३८ दशमलव ३१ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा १६ दशमलव तीन प्रतिशत अर्थात् रु ४९ अर्ब २३ करोड ५८ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थामा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा २६ दशमलव दुई प्रतिशत अर्थात् रु ८० अर्ब ४३ लाख बराबर खर्च भएको छ ।

प्रकाशित : १ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह