काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आसन्न लगानी सम्मेलन अगावै सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् ।
तेश्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा अर्थमन्त्री महतले लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्वान गरेका हुन् ।
अर्थमन्त्री डा. महत लगानी सम्मेलन निर्देशक समितिको संयोजक पनि हुन् । सम्मेलन वैशाख १६ र १७ तद्अनुसार अप्रिल २८ र २९ मा काठमाडौंमा हुँदैछ ।
कार्यक्रममा उनले लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन उहाँले विशेष निर्देशन दिए । आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो ।
बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।
लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ ।
नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ । यी सबै समिति र कार्यदलहरूले आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेका छन् ।
शुक्रबार सम्पन्न निर्देशक समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति; उर्जा, जलस्रोत तथा सिंचाई; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र सहरी विकास मन्त्रालयका मन्त्रीहरु सहभागी थिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका छाता संगठनहरू– नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरूको बैठकमा सहभागिता रहेको थियो ।
प्रतिक्रिया