काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब सात खर्ब व्यापारघाटा बेहोर्दा त्यसमा सबैभन्दा ठूलो हिस्सा भारतको रहेको छ ।
नेपालले सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहारेको छ ।
पुस मसान्तसम्म भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको आयात गर्दा भारतमा भएको निर्यात भने ५० अर्ब ४४ करोड २२ लाखमा सीमित छ ।
पुस मसान्तसम्ममा रू छ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार बराबरको व्यापार घाटा देखिएको हो ।
भारतपछि दोस्रो नम्बरमा रहेको चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड एक लाख १५ हजार व्यापारघाटा रहेको छ । यस्तै, संयुक्त अरब इमिरेट्ससँग १२ अर्ब २६ करोड, युक्रेनसँग ९ अर्ब ९६ करोड र मलेसियासँग ८ अर्ब ६० करोड बराबर व्यापार घाटा छ ।
यद्यपि, यस अवधिमा अमेरिकासँगको व्यापारमा भने नेपाल अझै नाफामा छ । छ महिनामा नेपालले अमेरिकाबाट ७ अर्ब ६३ करोड ६३ लाख ६६ हजार बराबरको आयात गर्दा ८ अर्ब ३३ करोड ९९ लाख ६७ हजार बराबरको निर्यात गरेको छ ।
यसरी अमेरिकासँगको व्यापारमा नेपालले ७० करोड ३६ लाख बराबरको नाफा आर्जन गरेको छ ।
भन्सार विभागका अनुसार पछिल्लो छ महिनामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । पुस मसान्तसम्ममा ६६ अर्ब ४९ करोड ११ लाख बराबरको डिजेल, ३३ अर्ब ९१ करोड ९६ लाख बराबरको पेट्रोल, २५ अर्ब ४५ करोड बराबरको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागको तथ्याङ्कअनुसार छ महिनामा नेपालले कूल रू आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रू सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार बराबरको आयात भएको छ भने रू ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार बराबरको मात्रै निर्यात भएको छ ।
विभागका अनुसार गत आर्थिक वर्षको पछिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ०९ र निर्यात सात दशमलव २३ प्रतिशतले घटेको छ । समग्रमा वैदेशिक व्यापार तीन दशमलव ४७ प्रतिशतले घटेको छ भने व्यापार घाटा दुई दशमलव ६२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया