Logo

अर्थनीति

मेलम्ची भ्रष्टाचारमा तीन सचिवसहित हाइप्रोफाइलः कोसँग कति मागदावी ?


gdpnepal
   ६ फाल्गुन २०८०, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचारको आरोपसहित तीन पूर्वसचिव र बहालवाला सहसचिवलगायत उच्चपदस्थविरुद्ध मुद्दा दायर गरेको छ ।

पूर्वसचिवहरु डा. सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुर तथा सहसचिव एवं अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ लगायत १५ जनाविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्षका हैसियतमा तीन पूर्वसचिवलाई प्रतिवादी बनाइएको हो । खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरु डा. संजय शर्मा, भिम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर बोर्ड अध्यक्ष हुन् ।

समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

जसमध्ये भीम उपाध्यायसँग ४ करोड ११ लाख मागदावी गरिएको छ भने गजेन्द्र ठाकुरसँग ६० करोड ४९ लाख र डा. सञ्जय शर्मासँग ६ करोड ९७ लाख मागदावी गरिएको छ ।

अध्यागमन महानिर्देशक रुद्रसिंह तामाङसँग ११ करोड ९ लाख मागदावी गरिएको अख्तियारले जनाएको छ ।

यस्तै, मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापासँग ७१ करोड ५८ लाख मागदावी गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराईसँग २२ करोड ७५ लाख, रामचन्द्र देवकोटासँग ३२ करोड ३५ लाख, सूर्यराज कँडेलसँग ८९ करोड ८ लाख मागदावी गरिएको छ ।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह