नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंक तथा वित्तिय संस्थाको अवस्था दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गर्भनर अधिकारीले नेपालको बैंक तथा वित्तिय संस्थाको अवस्था दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दावी गरेका हुन् ।
प्रभु बैंकका नायब कार्यकारी अधिकृत मनोज न्यौपानेसहित केही बैंकर्सलाई पक्राउ गरिएको विषयमा बोल्दै उनले ऋण प्रवाहमा अनियमितता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताएका छन् ।
बैंकर्सहरुलाई नअत्तालिएर छानबिनमा सहयोग पुर्याउन आग्रह गर्दे उनले भने ,‘प्रमुख कार्यकारी अधिकृतहरूलाई पक्राउ परेको विषयमा प्रहरीसँग पनि छलफल गरौं । राष्ट्र बैंकले रिफर नगरी गर्न सकिन्छ । राष्ट्र बैंकले छुट्टै अनुसन्धान गर्छ । तर, प्रहरीले अहिले सहकारीको अनुसन्धान गरिरहेको रहेछ । सहकारीको छानबिन गर्दा लहरोमा बैंकर्सहरू पक्राउ पर्नुभएको रहेछ । तर, बैंकर्सहरु आत्तिनु पर्दैन सबैले छानबिनमा सहयोग गर्न आवश्यक छ । कुनै कसूर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ । गल्ती गर्नुभएको भए कानून अनुसारको सजाय भोग्नुपर्छ ।’
त्यस्तै, समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका ऋण नतिरे पनि हुने जस्ता अनावश्यक हल्लाका कारण बैंकको खराब कर्जा ३.४० प्रतिशत पुगेको उनले जनाए ।
‘बैंकहरूको खराब कर्जा ३.४० प्रतिशत पुगेको छ । यसमा समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षेमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ । अराजक अभिव्यक्तिहरु र असम्भव आश्वषणहरु बजारमा फैल्याएर ऋण नतिर्दा पनि हुन्छ । मैले मात्रै दिँदा अरुले नतिरे पनि हुने अवस्था आयो भन्ने जस्ता मानसिकताको कारणले ऋण उठेको छैन । जुन गलत छ । त्यसले प्रत्यक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर गरेको छ’, उनले भने,’यसरी बैंकहरुको कर्जा गुणस्तर कमजोर हुने अवस्था देखिएको छ । बैंकहरु सबल र सुरक्षित छन् । बचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पतीको रूपमा छ । राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरकै छ । बैंकिङ क्षेत्रको सबलतालाई हेरेर विदेशी बैंक र फाइनान्सहरुले नियमित रुपमा फाइनान्स गरिरहेका छन् । राम्रोसँग ऋण दिएरहेका छन् । हाम्रो बैंकिङ प्रणालीमा समस्या भए ऋण दिँदै दिँदैनन् । उनीहरुले अहिले पनि हाम्रा वित्तीय संस्थाहरुलाई ऋण दिइरहेकाले पनि नेपालका बैंकहरु र प्रणाली सबल छन् भन्न सकिन्छ ।’
प्रतिक्रिया