काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनको काँध फेरेसँगै नयाँ मन्त्रिमण्डल गठनको तयारी सुरु भएको छ । बिनाविभागीय मन्त्री नियुक्तिसँगै सोमबार नै मन्त्रिमण्डल पुनर्गठनको तयारी प्रधानमन्त्रीले गरिरहेका छन् ।
नयाँ सरकार गठनमा दुई मन्त्रालयको भागबन्डा पेचिलो बन्ने देखिएको छ । गृह मन्त्रालय सत्ता साझेदार नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कसले लिने भन्ने विवाद चलिरहँदा अर्को महत्वपूर्ण मन्त्रालय अर्थमा भने एमाले र माओवादीबीच विवाद देखिन्छ ।
रास्वपामा अर्थमन्त्रीका लागि उपयुक्त पात्र डा. स्वर्णिम वाग्ले रहे पनि उक्त पार्टीको प्राथमिकतामा अर्थ मन्त्रालय परेको छैन । बरु, रास्वपा गृहबाट टसमस भएको छैन ।
गृह मन्त्रालय पाएमा रवि लामिछाने आफैं मन्त्रिमन्डलमा सहभागी हुने तयारीमा छन् ।
अर्थ मन्त्रालयमा भने एमाले उपाध्यक्ष विष्णु पौडेल चौथो पटक सत्तारोहणको प्रयासमा रहिरहँदा माओवादी उपमहासचिव वर्षमान पुन उनका लागि तगारो बनेका छन् ।
पौडेल र पुन दुवै नयाँ समीकरणका सूत्राधार भएकाले दुवैको दावी बलियो छ ।
पौडेलले यसअघि तीन पटक अर्थ मन्त्रालयको बागडोर सम्हालिसकेका छन् भने पुनले बाबुराम भट्टराई नेतृत्वको सरकारका समयमा अर्थ मन्त्रालय सम्हालेका थिए ।
अर्थशास्त्रको अध्ययनभन्दा पनि परिस्थितिजन्य रुपमा अर्थमन्त्री बनेका दुवैको शैक्षिक योग्यता भने अर्थतन्त्रको अहिलेको अवस्थालाई पार लगाउन सहज देखिँदैन ।
पौडेलले एसएलसीसम्म अध्ययन पूरा गरेका छन् भने पुनले आईएल अध्ययन गरेका छन् । पुनले बिएल पास गरेको उल्लेख गर्ने गरे पनि उनीनिकटहरुका अनुसार बीएलको अध्ययन पूरा गरेका छैनन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार मात्र तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतको पीएचडी कुन विषयमा हो ? भनेर व्यंग्य गरेका थिए । त्यसो त ओली स्वयं विद्यालय शिक्षा पनि पूरा नगरेका नेताका रुपमा परिचित छन् ।
प्रतिक्रिया