Logo

मुख्य समाचार

एमालेले किन पठायो ‘कमजोर’ र ‘लो प्रोफाइल’ मन्त्री ?


gdpnepal
   २३ फाल्गुन २०८०, बुधबार


काठमाडौं । नयाँ गठबन्धनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गर्ने भनिए पनि अन्ततः रघुवीर महासेठले नेतृत्व गर्ने भएका छन् ।

अर्थ मन्त्रालय प्रधानमन्त्रीकै दल माओवादी केन्द्रले राख्ने भएसँगै चौथोपटक अर्थको बागडोर सम्हाल्ने तयारी गरिरहेका पौडेल मन्त्रिमण्डलमा सहभागी हुनै तयार भएनन् । जसका कारण महासेठको भाग्य चम्कियो ।

संसदको दोस्रो ठूलो दलको नेतृत्व गरेर सरकारमा सहभागी हुने महासेठ आफैंमा भने विवादास्पद विगत र कमजोर क्षमताका कारण प्रचण्ड सरकारलाई सफल हुन नदिने एमालेको नियतका रुपमा चित्रित गर्ने गरिएको छ ।

अघिल्लो सरकारमा कांग्रेसका मन्त्रीहरुको कमजोर प्रदर्शनका कारण सफल हुन नसकेको दावी गरिरहेका प्रधानमन्त्री दाहालका लागि एमालेले पठाएका मन्त्रीहरुको अनुहार हेर्दा ‘पहिलो गाँसमै ढुंगा’ लागेको विश्लेषण गर्न लागिएको छ ।

एमालेले पठाएका मन्त्रीहरुको सूची हेर्दा पदम गिरीबाहेक अन्यबाट कुनै परिणामको आशा गर्न नसकिने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दा यसअघि कर्मचारी सरुवाबाटै करोडौं असुलेका भनिएका महासेठलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै जिम्मेवारीबाट हटाएका थिए । उनको ठाउँमा पाँचथरका वसन्त नेम्वाङलाई मन्त्री बनाइएको थियो ।

दाहाल सरकारमा महासेठलाई सोही मन्त्रालयको जिम्मेवारी दिएर पठाउनु भनेको सरकारलाई सफल हुन नदिने मात्र नभइ लो प्रोफाइल मन्त्री पठाएर एमालेले प्रधानमन्त्रीको महत्वाकांक्षामा सिधा प्रहार गरेको जानकारहरु बताउँछन् ।

एमालेले महासेठबाहेक यसअघि सपथ ग्रहण गरिसकेका पदम गिरी तथा राजेन्द्र राई, ज्वालाकुमारी शाह, बलराम अधिकारी, दामोदार भण्डारी, भगवती चौधरी, हरिप्रसाद उप्रेतीलाई पनि एमालेले पुनः सरकारमा पठाउने भएको छ ।

यीमध्ये अधिकारी र महासेठबाहेक अन्य सांसदहरु दाहाल सरकारमा गत वर्ष झन्डै दुई महिना मन्त्री बनिसकेका हुन् । एमालेले त्यसबेला अवसर नपाएकाहरुलाई प्राथमिकतामा राखेर मन्त्री बनाए पनि पार्टी जीवनमा समेत उनीहरु कुनै छाप छोड्न सकेका छैनन् ।

राजनीतिलाई नजिकबाट नियालीरहेक एक विश्लेषक भन्छन्ः एमालेको उद्देश्य गठबन्धन भत्काउनुमात्र थियो, जसमा सफल भयो तर ऊ प्रचण्ड सफल भएको देख्न चाहाँदैन भन्ने मन्त्रिपरिषदमा उसले पठाउन लागेका अनुहारबाटै स्पष्ट हुन्छ ।

प्रचण्ड सरकार जति चाँडो बदनाम हुन्छ, उति नै चाँडो केपी ओलीका लागि सरकारको नेतृत्व गर्ने अवसर खुल्ने भएकाले एमालेले चातुर्यता देखाएको उनी बताउँछन् ।

प्रकाशित : २३ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह