Logo

बिजनेस होम

भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल आउने पर्यटक दोब्बर हुने


gdpnepal
   २४ फाल्गुन २०८०, बिहिबार


भारतको सीमावर्ती क्षेत्रबाट आउँदो गर्मी याममा नेपाल आउने परिवारसहितका भारतीय पर्यटकहरुको संख्या दोब्बर हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरुले आँकलन गरेका छन् । सो तथ्य भारतीय र नेपाली पर्यटन व्यवसायीहरुबीच लखनउमा भएको एक वृहत नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा जनाइएको छ ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ । जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटकहरुलाई नेपाल भित्राउन संघले यही मार्च ३ देखि ७ सम्म भारतको लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लखनउ, कानपुरलगायतका क्षेत्रका ५० भन्दा बढी प्रतिष्ठित टूर अपरेटर र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

टुर अपरेटरहरुलाई स्वागत गर्दै संघका अध्यक्ष विनायक शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै आउँदो गर्मीको छुट्टीमा भारतीय पर्यटकहरुलाई नेपाल घुम्न निम्ता दिए ।

अध्यक्ष शाहले नेपाल गन्तव्य विवाह र माइस पर्यटनका लागि उपयुक्त रहेको साथै यसका लागि पर्याप्त संरचनाहरु तयारी अवस्थामा रहेको पनि बताए । उनले पर्यटकहरुलाई नेपालका मौलिक खानाहरु खुवाएर नेपाल भ्रमण स्मरणीय बनाइने पनि बताए ।

अध्यक्ष शाहले नेपालको धार्मिक तथा प्रमुख पर्यटकीय गन्तव्यहरुलाई समेटेर हिन्दी भाषामा तयार गरिएको प्रवर्द्धनात्मक पुस्तकका बारेमा चर्चा गरे भने उपस्थित सम्पूर्ण सहभागीहरुलाई उक्त पुस्तक वितरण गरियो ।

कार्यक्रमा भारतीय पर्यटन व्यवसायीहरुको तर्फबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इण्डिया र ट्राभल ट्रेड एसोसिएसन यूपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवद्र्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए ।

उनीहरुले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकहरुलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकहरुले नेपाल भ्रमण गर्ने विश्वास दिलाए । उनीहरुले भारत नेपाल सीमावर्ती पर्यटन प्रवद्धृनमा नेपाल र भारतीय सीमावर्ती शहरहरुबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको जनाउँदै यस सम्बन्धमा दुवै देशका सरकारहरुलाई आ आफ्नो क्षेत्रबाट सहजिकरणका लागि आग्रह गरे ।

कार्यक्रममा लुम्बिनीबाट सीपी श्रेष्ठ, विराटनगरबाट राजन श्रेष्ठ, पोखराबाट भरतराज पराजुली, चितवनबाट सुमन घिमिरे, मधेश प्रदेशबाट विजयकुमार झुनझुनवाला, बर्दियाबाट मोहन चौधरीले आ आफ्नो क्षेत्र तथा प्रदेशको पर्यटन आकर्षणका बारेमा चर्चा गर्दै भारतीय पर्यटकहरुलाई नेपाल घुम्ने निमन्त्रणा दिए भने संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरे ।

संघका प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतले सञ्चालन गरेको कार्यक्रममा खासगरी ‘चलिएपोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुती गरी आउँदो गर्मी याममा आयोजना हुने गर्मी से बेहाल चलो नेपाल अभियानबारे पनि विस्तृत प्रस्तुति गरिएको थियो ।

यसअघि जानकी मन्दिरमा विशेष पूजा गरी परम्पराअनुसारको चाँदी तथा तुलसीको विशेष माला सहित १६ वटा सगुन तथा उपहारका किस्तीहरु प्रदेश पर्यटन मन्त्री सुनिता यादव तथा जानकी मन्दिरका महन्तबाट राममन्दिर अयोध्या तर्फ लैजान अध्यक्ष शाह तथा टोलीलाई हस्तान्तरण गरिएको थियो ।

नेपाल होटल संघ टोलीले राममन्दिर अयोध्यामा विशेष पूजा अर्चना गरी लखनउ पुगेको यिथो ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह