Logo

अर्थनीति

लघुवित्त सञ्चालक मन्त्री बनिन्ः आन्दोलनरत पीडितको घाउमा नुनचुक !


gdpnepal
   २४ फाल्गुन २०८०, बिहिबार


काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नयाँ सत्ता गठबन्धनमा नेकपा एमालेले भगवती चौधरीलाई महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएको छ ।

भगवती चौधरी दोस्रोपटक मन्त्री भए पनि उनले यसअघि मन्त्रालय नेतृत्व दुई महिना पनि सम्हाल्न पाएकी थिइनन् ।

चौधरी मन्त्री बनिरहँदा काठमाडौं उपत्यकामा हजारौंको संख्यामा लघुवित्त पीडितहरु आन्दोलनमा छन् । चौधरी एमाले नेतृमात्र नभै गैरसरकारी संस्था र लघुवित्त अभियानकी पुरानो नेतृ पनि हुन् ।

उनले स्थापना गरेको फरवार्डस् नेपाल नामक एनजीओ अहिले पूर्वी नेपालको चर्चित फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था हो ।

फरवार्ड माइक्रोफाइनान्सलाई नेपाल राष्ट्र बैंकले सन् २००६ मा इजाजतपत्र प्रदान गरेको थियो भने उनी यसको संस्थापक अध्यक्ष हुन् । चौधरीले गत वर्ष प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मात्र संस्थाको नेतृत्व छाडेकी हुन् ।

संसद सदस्य नभएकै कारण हाल फरवार्ड लघुवित्तको सञ्चालक समितिमा नभए पनि चौधरी सो संस्थाकी हर्ताकर्ता हुन् र अझै पनि उनको प्रत्यक्ष नियन्त्रणमा संस्था सञ्चालन भइरहेको जानकारहरु बताउँछन् ।

काठमाडौंमा पछिल्ला केही दिनदेखि लघुवित्त तथा सहकारी पीडितले विभिन्न माग राख्दै आन्दोलन गर्दै आईरहेका छन् । लघुवित्त तथा सहकारी पीडितले संसद् भवन परिसरमा समेत आन्दोलन गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला उनीहरु संसद् भवन परिसरमा भित्र जबरजस्ती पुगेर नाराबाजी गरेका हुन् । जसका कारण पक्राउ परेका १८ भन्दा बढी लघुवित्त पीडितहरु हाल छुटेका छन् ।

सरकार लघुवित्त पीडितको आन्दोलनमा संयमित र गम्भीर नभइरहेको बेला लघुवित्त सञ्चालकलाई नै मन्त्री बनाइएपछि यो मुद्दा पेचिलो बनेको छ ।

पीडितहरु समस्या समाधान नभै घर नफर्कने अडानमा रहे पनि स्वार्थ बाझिएका व्यक्ति नै मन्त्रिपरिषदमा समेटिएपछि उनीहरु निराश भएका छन् ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह