Logo

मुख्य समाचार

२२० केभीको वसन्तपुर-ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न


GDP नेपाल
   २७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ। तमोर र त्यसका सहायक नदीमा निर्माणाधीन आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना सम्पन्न भएको छ । 

सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका र हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो । समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारण लाइनका लागि एक सय २७ वटा टावर निर्माण गरिएका छन् । वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा छ  वटा ‘बे’ विस्तार भइरहेको छ । त्यसमध्ये तीन वटा बेका उपकरण जडान र परीक्षण भइरहेको छ । उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुख्यरुपमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाहमा कुनै समस्या नरहेको बताउनुभयो । 

“वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्रमा मध्य तमोरको विद्युत् जोडिनेछ, आयोजनाको हाल अन्तिम चरणका परीक्षणका कार्य भइरहेको जानकारी पाएका छौँ, आयोजनाको विद्युत् जोड्न वसन्तपुर सबस्टेसनमा बे विस्तारका लागि उपकरण जडान र परीक्षणका कार्य भइरहेका छन्, मध्य तमोरले विद्युत् उत्पादन सुरु गर्ने बेलासम्ममा वसन्तपुर सबस्टेसनमा बे विस्तार सम्पन्न भई विद्युत् प्रवाहका लागि तयार हुनेछ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।  

“प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजना निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ, मध्य तमोरलगायतका जलविद्युत् आयोजनाको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।” 

कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–३ अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइन र ढुङ्गेसाँघुमा १३२/३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्टरनेशनल, भारतसँग विसं २०७४ माघमा दुई करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता २०७५ जेठदेखि कार्यान्वयनमा आएको थियो । प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुङ्गेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण गरिएको हो । 

कोसी करिडोर प्रसारण लाइन आयोजना प्याकेज–४अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा बे विस्तार कार्य भइरहेको छ । कूल ३५ किलोमिटरमध्ये प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ । बे विस्तार जारी छ । 

यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिसँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ । 

कोशी करिडोर प्रसारण लाइन प्याकेज–१ अन्तर्गत सङ्खुवासभाको तुम्लिङ्टारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फमात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ । 

प्याकेज–२ अन्तर्गत सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार, बानेश्वर तथा वसन्तपुरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउनेछ । वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत् इनरुवा सबस्टेसनमा पु¥याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ । 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात ९एक्जिम० बैंकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । 

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ । कोसी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । 

कोसी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । 

प्रकाशित : २७ फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह