काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ले काठमाडौं उपत्यकाका विभिन्न नदीकिनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको व्यवस्थापनबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले वर्षौँदेखि दोहोरिँदै आएको बाढी जोखिम र अव्यवस्थित बसोबासका कारण नागरिकको ज्यान जोखिममा परेको उल्लेख गर्दै अब सुरक्षित स्थानान्तरण अनिवार्य भएको बताएका छन्।
प्रधानमन्त्री शाहले प्रत्येक वर्ष बाढीका कारण नदीकिनारका बस्तीमा बसोबास गर्ने हजारौँ मानिसले ज्यान जोगाउन मात्रै भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको स्मरण गराउँदै यसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिए। “अब पनि दुर्घटना कुर्दै बस्ने कि नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने भन्ने निर्णय गर्नुपर्छ,” उनले बताएका छन्।
उनका अनुसार जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई त्यही अवस्थामा छोडिराख्नु अधिकारको रक्षा नभई लापरवाही हुने उल्लेख गर्दै सुरक्षित बसोबासको व्यवस्था गर्नु नै राज्यको दायित्व हो। साथै, नदीकिनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली प्रभावित हुँदा उपत्यकाका नदी तथा खोला थप प्रदूषित भएको पनि उनले बताएका छन्।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रलगायत स्थानका सुकुम्बासीलाई बल प्रयोग नगरी मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए। यस कदमले काठमाडौंको ढल व्यवस्थापनलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले सुकुम्बासी व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ‘सरकारका १०० काम’ भित्रै यसलाई समेटिएको स्मरण गराए। वास्तविक सुकुम्बासी र अतिक्रमणकारीलाई छुट्याएर देशभरका पीडित परिवारलाई प्रक्रिया पूरा गरी जग्गा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए।
उनले देशभर रहेका सुकुम्बासी समस्या र काठमाडौंका नदीकिनारको समस्या फरक प्रकृतिको रहेको उल्लेख गर्दै दुवैलाई छुट्टाछुट्टै ढंगले समाधान गरिने बताए। “वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यही सरकारले गर्नेछ,” उनले भने, “ढुक्क हुनुहोस्।”










प्रतिक्रिया