काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १५८,५४० रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३१४,७६७ र १६७,७०८ रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई रु.९१० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया