Logo

कर्पोरेट-बजार

एफएनसीसीआई र कतार चेम्बरबीच संयुक्त वाणिज्य परिषद स्थापना गर्ने सम्झौता


GDP नेपाल
   १२ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना हुने भएको छ । कतारी राजाको दुई दिने नेपाल भ्रमणका क्रममा बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीबिच नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना गर्ने सम्झौता भएको हो ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गरे । परिषद्ले दुई देशबिच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्न कोशेढुंगा बन्ने विश्वास लिइएको छ ।

तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको महासंघले जनाएको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबिच सहकार्य र समझदारी बढाउनु हो । नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ ।

खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडीबुटी, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रूपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसै गरी पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषद्ले काम गर्नेछ । परिषद् स्थापनापछि दुई चेम्बरबिचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् ।

‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले भने ।

यसै गरी महासंघ अध्यक्ष ढकालले परिषद्‍मार्फत थप सहकार्यका लागि थप काम गरिने बताउँदै उनले भने, ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ ।’ परिषद्को स्थापनापछि नेपालको जलविद्युत, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ समेत उनले बताए ।

यसै गरी महासंघ र कतार चेम्बरबिचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारी पत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पनि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो । महासंघ र कतार चेम्बरबिच सन २००५ मा पहिलोपटक समझदारी भएको थियो । त्यस यता दुई चेम्बरले लगानी र व्यापार प्रवर्द्धनमा विविध सहकार्य गर्दै आइरहेका छन् ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह