Logo

मुख्य समाचार

राजेश अग्रवाल भर्सेस कुलमान घिसिङः सीएनआईको विज्ञप्तिपछि प्राधिकरण एक्सनमा


gdpnepal
   २० जेष्ठ २०८१, आइतबार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण गरिरहेको जनाएको छ ।

शुक्रबार नेपाल उद्योग परिसंघले मुलुकका औद्योगिक करिडोरमा पर्याप्त विद्युत् आपूर्ति गर्न नसकेको बेला भारततर्फ विद्युत् निकासी गरेको भन्दै कडा शब्दमा आलोचना गरेपछि प्राधिकरण शनिबार नै एक्सनमा उत्रिएको हो ।

परिसंघको कडा विज्ञप्तिको भोलिपल्टै प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ वीरगन्ज पुगेका छन् । जहाँ परिसंघ अध्यक्ष राजेश अग्रवालसहितका उद्यमीको फ्याक्ट्रीले पर्याप्त विद्युत् नपाएको गुनासो गरिरहेका छन् ।

शुक्रबार परिसंघको विज्ञप्ति पनि अध्यक्ष अग्रवालकै रुचिअनुसार सार्वजनिक भएको भन्दै प्राधिकरणले सो क्षेत्रको समस्यामा चासो देखाएको हो ।

वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई विद्युत् आपूर्ति दिन चालू रहेका प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणको भनाइ छ । साथै, उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन छन् भने केही प्रस्तावित रहेको समाचारमा उल्लेख छ ।

“बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ,वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रुपमा बनाउन लागेको हो,” प्राधिकरणले भनेको छ ।

प्राधिकरणले वीरगञ्ज औद्योगिक करिडोरको समस्या समाधान गर्न बाराको पथलैया (पिलुवा) सबस्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार (कन्डक्टर) बदलेर नयाँ राखिरहेको छ । डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो कन्डक्टर निकाली उच्च क्षमता (एचटिएलएस)को राख्ने काम भइरहेको जनाएको छ ।

एउटा सर्किटको काम सकिएपछि त्यसलाई सञ्चालन गरी दोस्रो सर्किटको काम सुरु हुनेछ । प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सक्ने लक्ष्यकासाथ काम भइरहेको छ । पथलैया (पिलुवा)– परवानीपुर प्रसारण लाइनबाट करिब २ सय मेगावाट प्रवाह गर्न सकिनेमा कन्डक्टर बदलेपछि क्षमता बढेर झण्डै दोब्बर हुनेछ । हेटौंडा–पथलैया (पिलुवा) १३२ केभी प्रसारण लाइनको पनि कन्डक्टर बदलेर क्षमता दोम्बर बनाइसकिएको छ । यसले गर्दा परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार स्थलगत अनुगमन गरी कन्डक्टर बदल्ने कार्य जतिसक्दो छिट्टो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रसारण लाइनको क्षमता स्तरोन्नतिको कामका लागि एउटा सर्किट बन्द गर्नुपर्दा वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या भएको गुनासो आइरहेको छ, अर्कोतर्फ पथलैयाबाट थप विद्युत पठाउन नसक्दा भारतको रक्सौलबाट विद्युत् आयात गरिरहनु परेको छ, त्यसैले यस्तो संवेदशील अवस्थामा गम्भीर भएर तोकिएकै समयभन्दा अगाडि काम सक्नुपर्छ ।’

घिसिङले अब पथलैया–परपानीपुर प्रसारण लाइनको क्षमता हालकोभन्दा दोब्बर हुनेहुँदा त्यस क्षेत्रमा खपत गरी बढी भएको वर्षायामको विद्युत् रक्सौलतर्फ निर्यात गर्न सकिने बताए ।

वीरगञ्ज क्षेत्रका उद्योगहरुले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माणाधीन रहेको उनले उल्लेख गरे ।

वीरगञ्ज क्षेत्रका उद्योगहरुलाई लक्षित गरी बाराको प्रसौनी र वीरगञ्जमा गरी १३२ केभीका दुईवटा सबस्टेसन निर्माणाधीन छन् । प्रसौनी सबस्टेसन र बीरगञ्ज सबस्टेसन जोडी विद्युत् आपूर्ति गर्न १३२ प्रसारण लाइन निर्माणाधीन छ ।

यसैगरी, वीरगञ्ज क्षेत्रको विद्युत्को बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ । पोखरियामा सबस्टेसन निर्माणाधीन छ । परवानीपुर– पोखरिया करिब २१ किलोमिटर प्रसारण लाइनको डिजाइन तयार भइसकेको छ ।

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई रमौली हुँदै पोखरियामा पुर्याउने गरी अर्को आयोजना सुरु गरिएको छ । प्रस्तावित उक्त ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुने छ ।

निजगढ, रमौली र पोखरियामा गरी ४०० केभीका तीनवटा सबस्टेसन निर्माण गरिने छ । निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ ।

निजगढ सबस्टेसन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिने छ । निजगढ–रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिनेछ । रमौली–पोखरिया २७ किलोमिटर प्रसारण लाइन र पोखरिया सबस्टेसनको लगानी स्रोत जुटिसकेको छैन ।

यसअघि शनिबार नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।

“विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको समाचार संचार माध्यमहरुमा प्रकाशित भएका छन् । सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं,” परिसंघले भनेको थियो ।

आफूहरुले विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएको तर, प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै नगरेको परिसंघको भनाइ छ । जसको मारमा उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् ।

“अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ,” परिसंघको भनाइ छ, “प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ ।”
स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग गर्न परिसंघले आग्रह गरेको छ । साथै, उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघले जोडदार माग गरेको छ ।

प्रकाशित : २० जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह