Logo

अर्थनीति

ओलीको सय दिनको उपहारः इन्धनमा चौथो पटक मूल्यवृद्धि


appharu
   २ जेष्ठ २०७५, बुधबार


काठमाडौं । केपी ओली नेतृत्वको सरकारले सय दिन पूरा गर्न केही दिनमात्र बाँकी रहँदा इन्धनको मूल्य बढेको छ । यो अवधिमा ४ पटक मूल्यवृद्धि भइसकेको छ ।
नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै डिजेल र पेट्रोलमा प्रतिलिटरमा दुई रुपैयाँ बढाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमको भनाइ छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल/मटीतेल ९२ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार पेट्रोलमा ७२ पैसा नाफा र डिजेलमा भने २ रुपैयाँ २९ पैसा घाटा रहेको छ । लगातार इन्धनको मूल्य बढेर आएपछि निगमको नाफा शून्यमा झरेको छ ।
इन्डियन आयल कर्पाेरेसन (आइओसी)ले बुधबार पठाएको नयाँ मूल्यअनुसार इन्धनको मूल्य बढेर आएकाले निगमले मूल्य समायोजन गरेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले पछिल्लो चार महिनायता लगातार इन्धनको मूल्य बढाउँदै आएको छ ।
आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्छ ।

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह