Logo

मुख्य समाचार

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप


GDP नेपाल
   २९ जेष्ठ २०८१, मंगलबार


काँक्रेविहार । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । रु ७० करोडमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो ।

आयोजना निर्माणका लागि छ हजार रुख कटानका लागि टाँचा लगाइएको आयोजना प्रमुख चौधरीले बताउनुभयो । बाँके र बर्दिया जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्नुपर्ने भएकाले रुख कटान हुने प्रमुख चौधरीले बताउनुभयो ।

विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट निर्णय भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति आउन समय लागेका कारण काम अघि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयानुसार रूखमा छपान कार्य भने सकिएको छ । सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुनसकेको छैन । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन । विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेर विकल्पसमेत मागेका हुन् ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभार हुँदै लाइन विस्तार हुने उल्लेख छ । प्रसारण लाइन निर्माण गर्दा स्थानीयवासीलाई उचित मुआब्जा दिएर विवाद समाधान गर्न पहल भइरहेको आयोजनाको दाबी छ । पटकपटक म्याद थप्दा पनि विवाद समाधान तथा निर्माणकार्यले गति नलिँदा कर्णालीमा विद्युत्को समस्या जहाँको तहीँ छ ।

हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । एक सय पाँचवटा फाउण्डेसन निर्माण गरिएको छ भने दशवटा फाउण्डेसन बनिरहेका छन् । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

चार सय केभी निर्माण गर्ने सरकारको उद्घोष

सरकारले आगामी आवबाट चार सय केभी प्रसारण लाइन निर्माण सुरु गर्ने बताएको छ । भेरी र कर्णाली करिडोरामा चार सय केभी प्रसारण लाइन निर्माण गर्ने सरकारको लक्ष्य छ । चार सय केभी प्रसारण लाइन एक सय ५० केभी प्रसारण लाइनमा ल्याएर जोडिने छ । नलगाड, ताक्सुगाड र जगदुल्ला जलविद्युत् आयोजना निर्माण भएमा उक्त विद्युत् मैनतडास्थित चार सय केभीको सबस्टेशनमा जोडिने लक्ष्य लिएको छ । नलगाडको पिपीए नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशसँग भइसकेको छ ।

जगदुल्लाको पिपीए बाफीकोटस्थित सबस्टेशनमा भए पनि पुनः दानीपिपलस्थित चार सय केभीको सबस्टेशनमा हुने भएको छ । त्यस्तै कर्णाली करिडोर हुँदै चार सय केभी प्रशारण लाइन निर्माण हुनेछ । साविकको कर्णालीलगायत अन्य दैलेखलगायतका जिल्लामा विद्युतीकरण गर्न यो काम हुने भएको हो । भेरी करिडोरमा निर्माण हुने चार सय केभी प्रसारण लाइन डबल सक्र्रिटको छ । दुई हजार पाँच सय मेगावाट विद्युत् यही प्रसारणमार्फत जोड्ने लक्ष्य छ । एक सय ५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले बताउनुभयो ।

बत्तीस केभीले कर्णाली हैरानीमा

पटकपटक विद्युत् अवरोध हुँदा कर्णालीमा हैरानी भएको छ । ३२ केभी प्रसारण लाइनको विद्युत् पुराना भएकाले पटकपटक समस्या आउने गरेको छ । दिनमा कम्तीमा सातपटकभन्दा बढी अवरोध हुँदा समस्या हुने गरेको हो । हावापानी चल्नेबित्तिकै पूरै लाइन अवरुद्ध हुने गरेको छ । कर्णालीका उद्योगी, व्यवसायी विद्युत्को मारमा परेका छन् । बत्ती आइहाले पनि ‘लो भोल्टेज’का कारण काम गर्न गाह्रो हुने गरेको वीरेन्द्रनगर नगरपालिका–१० का मोहनजङ्ग शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बत्ती आए पनि पङ्खा घुम्दैन, पानी तान्ने मोटर नै चल्दैन ।”

प्रकाशित : २९ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह