Logo

बैंक / बिमा /शेयर

ओपेक फण्डबाट ३ अर्ब ३३ करोड ऋण लिँदै ग्लोबल आइएमई बैंक


GDP नेपाल
   १३ असार २०८१, बुधबार


काठमाडौँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (करिब ३ अर्ब ३३ करोड रुपेयाँ) ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायहरुको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ । यसका बाबजुद, लघु, साना तथा मझौला उद्यमहरुले लगानीको ठूलो अभाव झेलिरहेका छन् ।

‘नेपालमा लघु, साना तथा मझौला व्यवसायहरु र जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी परियोजनाहरुलाई सुदृढ बनाउन ग्लोबल आइएमई बैंकसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ । यी क्षेत्रहरु दिगो आर्थिक वृद्धि र जलवायु परिर्वतनको प्रतिरोधात्मक क्षमताका लागि निकै महत्वपूर्ण छन् । हाम्रो यस ऋणले लगानीको अभाव सामना गरिरहेका विभिन्न क्षेत्रमा वित्तीय पहुँच बढाउँदै समावेशी विकासलाई प्रवद्र्धन गर्नेछ,’ अल्खलिफाले भने ।

यस्तै बज्राचार्यले यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्ने बताए । साथै, नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउन सहयोग गर्ने उनको भनाइ छ ।

यस महत्वपूर्ण सहकार्यको लागि ओपेक फण्डलाई धन्यवाद व्यक्त गर्दै उनले यस सहकार्यले नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण लघु, साना तथा मझौला उद्यमलाई सुदृढ गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।

प्रकाशित : १३ असार २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह