Logo

Banner-news

साझाको २२ रोपनी जग्गामा ५ तारे होटल खोल्न कनकमणिको दौडधुप !


GDP Nepal
   ७ श्रावण २०७६, मंगलबार


काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित अहिले निकै विवादित बनिरहेका छन् । साझा यातायातलाई पुनर्जीवन दिएर सार्वजनिक यातायातका क्षेत्रमा सुधारको अगुवा बने पनि कतिपय रहस्यमयी व्यवहार र असहिष्णु चरित्रका कारण अध्यक्ष दीक्षित विवादको शिखरमा छन् ।

हरिहरभवन पुल्चोकस्थित साझाको २२ रोपनी जग्गामा पार्क गरी राखिएका गाडी

साझा यातायातलाई सरकारले विद्युतीय बस किन्न भन्दै तीन अर्ब दिएसँगै यसप्रति धेरैको ध्यान खिच्यो । सँधैजसो खचाखच यात्रुले भरिने साझाको ब्यालेन्स सीट भने घाटामा रहेको तथ्य केही सातादेखि चर्चामै रहँदा सरकारले कुनै छानबिन नै नगरी विद्युतीय बस खरिदका लागि भन्दै ३ अर्ब दिएपछि यसप्रति तीब्र प्रतिक्रियाहरु सार्वजनिक भए ।

साझाको घाटा र तीन अर्बको विषयलाई ख्यातिप्राप्त चिकित्सक रामेश कोइरालाले सुरु गरेको बहसमा दीक्षित र उनकै लगानीको पत्रिकाका सम्पादकसमेत भीडन्तमा उत्रिएपछि बहसले अर्कै रुप लियो । साझाको घाटाका विषयमा प्रश्न गर्नेहरुलाई दीक्षितले ब्लक गर्ने गरेको घटनाले पनि उनको असहिष्णु व्यवहार नै उजागर ग¥यो ।

यसरी साझाप्रति आम सेवाग्राहीको सदभाव हुँदाहुँदै पनि त्यसको व्यवस्थापनको अपारदर्शी शैली र घाटामा जानुबारे कुतर्कका कारण सशंकित सर्वसाधारण तथा जिज्ञासुहरु कनक दीक्षितको असहिष्णु व्यवहारका कारण थप चिढिन पुगेका छन् ।

त्यसो त नेपालका अधिकांश ठूला मिडियाका सम्पादकलाई कनक दीक्षितबाटै दीक्षित पत्रकार भन्ने गरिन्छ र सम्भवतः यही कुरालाई पुष्टि गर्दै यो विषयले मूलधारे मिडियामा प्रवेश पनि पाएको छैन । सोमबारको नयाँ पत्रिकाबाहेक मूलधारका मिडियाले साझालाई सरकारले अनुदान दिएको विषयमा मौनता साँधेका छन् ।

कनकमणि दीक्षित

यता, साझाका अध्यक्ष कनकमणि दीक्षितले ललितपुरको पुल्चोकमा रहेको साझाको जग्गामा होटल र सम्मेलन केन्द्र स्थापनाका लागि प्रक्रिया अघि बढाएका छन् । उनले उक्त जग्गामा ५ तारे होटलसहित सम्मेलन केन्द्र स्थापनाका लागि अघि बढाएको फाइल अझै पनि अर्थ मन्त्रालयका एक सहसचिवको टेबुलमा रहेको स्रोतले जनाएको छ ।

दीक्षित स्वयमले यस कुराको पुष्टि पनि गरेका छन् । उनले केही व्यवसायीलाई लगानी जुटाउन तथा सम्भावित विरोधको विपक्षमा एकजुट हुन आग्रह गरेको एक व्यवसायीले जानकारी दिए ।

ललितपुरको पुल्चोकजस्तो संवेदनशील स्थानमा खुला क्षेत्र रहेकोमा ठूला भवन बनाउन हुँदैन भन्ने केही पक्ष भने यस्ता अभियानका अभियन्ता नै रहेका दीक्षित नै अग्लो भवन निर्माणमा उद्यत भएको देखेर अचम्भित छन् ।

हाल हरिहरभवनस्थित साझाको बसपार्कसमेत रहेको उक्त स्थानमा २२ रोपनी जग्गा छ । तत्कालीन सहकारी संस्था ऐन २०१६ अन्तर्गत प्रारम्भिक सहकारी संस्थाको रूपमा साझा यातायात दर्ता भएको हो । स्थापना भएको चार महिनापछि २०१९ साल साउन १ गतेदेखि संस्थाले काठमाडौ शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवा सुरु गरेको थियो ।

साझाको सञ्चालक समितिमा हाल सहकारी विभाग, यातायात व्यवस्था विभागलगायतका सरकारी निकायबाट समेत प्रतिनिधित्व छ ।

प्रकाशित : ७ श्रावण २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह