काठमाडौँ । नेपालको सार्वजनिक ऋण दायित्व ९४ अर्ब ५२ करोड रुपैयाँ थप भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएर २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ उत्पादनको ४४.३२ प्रतिशत हो ।
कुल ग्राहस्थ उत्पादनको आधारमा आन्तरिक ऋण २१.६ तथा बाह्य ऋण २२.६६ प्रतिशत कायम भएको छ । अहिले नेपालको जीडीपी ५७ खर्ब ४ अर्ब रुपैयाँ बराबर छ ।
सरकारले चालु आवमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये भदौ मसान्तसम्ममा १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ प्राप्ति भएको जनाएको छ ।
वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १८.६६ प्रतिशत हो । जसमध्ये आन्तरिक र बाह्य ऋण क्रमश २७.२७ र ६.४८ प्रतिशत छ ।
तथ्यांकअनुसार सरकारले चालु आवको लागि आन्तरिक ऋणतर्फ ३ खर्ब ३० करोड र बाह्य ऋणतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने वार्षिक लक्ष्य राखेको छ । जसमध्ये भदौ महिनासम्ममा आन्तरिकतर्फ ९० अर्ब रुपैयाँ प्राप्ति भएको छ, भने २ खर्ब ४० करोड रुपैयाँ प्राप्त हुन बाँकी छ ।
बाह्य ऋणतर्फ १४ अर्ब प्राप्त भएकोमा २ खर्ब २९ करोड प्राप्त हुन बाँकी रहेको छ ।चालु आवको ऋण सेवा खर्चमा ४ खर्च २ अर्ब वार्षिक बजेट विनियोजन भएको छ । जसमध्ये भदौ महिनासम्ममा ४७ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी भएको छ ।
यो रकम वार्षिक बजेट विनियोजनको आधारमा ११ दशमलव ८४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत छ ।
प्रतिक्रिया