काठमाडौँ । नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।
साँवा र ब्याज भुक्तानी मिति असोज २० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ ।
प्रतिक्रिया