बेइजिङ (एजेन्सी): संयुक्त राज्य अमेरिकासँगको व्यापार युद्धमा रहेको चीनमा अन्य मुलुकको लगानी भने बढेको छ । चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन अर्थात् करिब ७९ अर्ब अमेरिकी डलर लगानी भएको छ ।
जुलाईमा मात्र अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशत वृद्धि भई करिब ५५ अर्ब युआन भएको छ । सात महिनाको यस अवधिमा विदेशी लगानीका २४ हजार ५० नयाँ व्यवसाय थपिएका छन् । नयाँ लगानी भएका क्षेत्रहरुमा खासगरी उच्च प्रविधिका क्षेत्रमा सबैभन्दा बढी छ ।
वाणिज्य मन्त्रालयका अनुसार उच्च प्रविधिका व्यवसायमा झण्डै ९७ अर्ब युआन लगानी भएको छ ।
प्रत्यक्ष विदेशी लगानी चीनका पश्चिमी क्षेत्रमा सबैभन्दा बढी छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले लगानी वृद्धि भएको छ ।
यस अवधिमा जर्मनी र दक्षिण कोरियाबाट चीनमा सबैभन्दा बढी लगानी आएको छ । जर्मनीबाट ७२.४ र कोरियाबाट ६९.७ प्रतिशत लगानी वृद्धि भएको छ ।
वाणिज्य मन्त्रालयको तथ्याँकमा युरोपेली युनियनबाट पनि अघिल्लो वर्षको तुलनामा १८.३ प्रतिशत बढी लगानी भएको छ । बेल्ट एन्ड रोड (बिआरआई) मा सहभागी मुलुकबाट प्रत्यक्ष लगानीमा ५ प्रतिशतको झिनो लगानी भएको छ ।
प्रतिक्रिया