झूले (दोलखा) । तामाकोसी गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि झूलेमा सुरु भएको छ । तामाकोसी गाउँपालिकाको आयोजना तथा अमर मावि र जनप्रभात माविको व्यवस्थापन रहेको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता झुलेस्थित खेल मैदानमा सुरु भएको हो ।
वागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शुक्रबार दीप प्रज्वलन गरेर कार्यक्रम उदघाटन गरे ।
आइतबारसम्म सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगितामा तामाकोसी गाउँपालिका भित्रका अमर मावि र जनप्रभात मावि झूलेसहित सीतापाइला मावि र कालापानी मावि जफे, गोल्मेश्वर मावि मालु, जनजागृति मावि र खिम्ती प्रोजेक्ट स्कुल सहरे,
महेन्द्र मावि च्यामा, कालिका मावि हाँवा र नारायणी मावि भीरकोट सहभागी भएका छन् ।
प्रतियोगितामा हरेक विद्यालयबाट पुरुष भलिबल र महिला भलिबल सहित सयमिटर दौड तथा हाइजम्प र लङजम्प एवं ज्यावलिङ थ्रो लगायत विभिन्न खेलहरू प्रतिस्पर्धामा समावेश रहेकोे आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा मन्त्री काफ्लेले तामाकोसी गाउँपालिकाको प्राकृतिक रूपले सुन्दर र उत्कृष्ट झुलेको खेलमैदानमा खेलकुद सञ्चालन गरेकोमा आफूलाई खुसी लागेको बताए। अबको शिक्षालाई एकीकृत विकास गर्दै एक्काइसौं शताब्दी सुहाउँदो हुनुपर्ने भन्दै मन्त्री काफ्लेले युवा विद्यार्थीहरूसँग जोडिन पाउँदा आफूलाई ऊर्जा मिल्ने र तन्नेरी पुस्तासँग देशको भविष्य रहेको धारणा राखे ।
समारोहमा तामाकोसी गाउँपालिका प्रमुख प्रोणप्रताप केसीले खेलकुद सामाजिक उन्नयनका लागि एक अपरिहार्य विषय रहेको बताए । यो समाजलाई जोड्ने र राज्य राज्य जोड्ने तथा भावनात्मक एकताबद्द गर्ने र राष्ट्रिय भावनाको जागृत गरेर अनुशासन कायम गर्ने महत्त्वपूर्ण क्षेत्र रहेकोे उनको भनाइ छ ।
गाउँपालिका उपाध्यक्ष सिर्जना सुवेदीले खेल शैक्षिक क्षेत्रका लागि अन्तर्निहित विषय रहेको धारणा राखिन् । शिक्षासँगै खेलकुदले विद्यार्थीहरूलाई मानसिक र शारीरिक उन्नतिका लागि टेवा पुग्ने उनको विचार छ।
तामाकोसी–२ झुलेका वडाध्यक्ष ईश्वरराज कार्कीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा नेपाली काङ्ग्रेस नेता भवेन्द्र कार्कीलगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया