काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रम असफलताको बाटोमा गइरहेका बेला यसको अपजस भोग्नुपर्ने त्रासमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने अनौठो दावी गरेका छन् । उनले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमा भने– अब कर्मचारी सञ्चय कोषमा कसैको रकम जम्मा हुँदैन र कोषले पनि मजदुर तथा कर्मचारीको रकम लिँदैन ।
मन्त्री विष्टले स्पष्ट शब्दमा भने– निजी क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा प्रत्याभूत गर्न अब कर्मचारी सञ्चय कोषले रकम लिँदैन ।
सामाजिक सुरक्षा कार्यक्रममा न्यून सहभागितापछि सूचीकरणका लागि एक महिना समयावधि थपेको जानकारी गराउन मन्त्रीले नै आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सञ्चय कोषकै कारण सामाजिक सुरक्षा कार्यक्रम सफल नभएको घुमाउरो भाषामा आरोप लगाए । कार्यक्रमलाई सफल बनाउन कोषलाई अपांग बनाउने योजनामा मन्त्री विष्ट सफल हुने सम्भावना भने छैन ।
कर्मचारी सञ्चय कोषमा राखिएको रकम निकाल्न मिल्ने तथा ऋण, बिमा, सापटीलगायतका आकर्षक सुविधाका कारण यसप्रति सेवाग्राही आकर्षित छन् भने सामाजिक सुरक्षा कार्यक्रमबाट यस्तो कुनै सुविधा नपाइने भएकाले सूचीकरणमा जान चाहेका छैनन् ।
यता, असोज मसान्तसम्मको निर्धारित समयावधिभित्र अपेक्षित संख्यामा रोजगार प्रतिष्ठान सूचीकरणका लागि नगएपछि सरकारले दोस्रोपटक म्याद थपेको हो । सामाजिक सुरक्षा कोषका अनुसार अब कात्तिक १२ गतेसम्म सूचीकरण गर्न सकिन्छ ।
प्रतिक्रिया