Logo

Banner-news

मातृका यादव जानेवित्तिकै ग्यासमा कालोबजारी, नयाँ मन्त्रीहरु स्वागत थाप्दै व्यस्त !


GDP Nepal
   ८ मंसिर २०७६, आइतबार


काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर यतिबेला खाना पकाउने एलपी ग्यासको अभाव सुरु भएको छ । ग्यास अभाव भए पनि विभागीय मन्त्री र राज्यमन्त्री भने बधाई र शुभकामना थाप्नमै व्यस्त देखिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोति दुगड दुवै नयाँ हुन् । तत्कालीन मन्त्री मातृका यादवले हट्ने पक्कापक्की भएसँगै केही सातादेखि मन्त्रालयको काममा ध्यान दिन छाडेका थिए । सोही मौका छाड्दै व्यवसायीले कालोबजारी सुरु गरेका हुन् ।

यता, ग्यासको अभाव देखाएर कृत्रिम अभाव गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ । नेपाल आयल निगमले ग्यासको आपूर्ति प्रयाप्त भइरहेको बेला अभाव देखाउने डिपो र कम्पनी दुवैलाई कारबाही गर्ने जनाएको हो ।

ग्यासको अभाव गराउने कम्पनी र डिपो दुवैलाई इजाजतपत्र समेत खारेज गर्ने निगमले जानकारी दिएको छ ।

पछिल्लो समय उपत्यकामा व्यवसायीले ग्यास लुकाएर कृत्रिम अभाव गराउनेलाई निगमले कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौँ उपत्यकाका केही सर्वसाधारणले भने बजारमा सहज ग्यास उपलब्ध हुन नसकेकाले आपूर्तिमा समस्या रहेको गुनासो गर्न थालेपछि निगमले अभाव गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएको छ ।

निगम प्रवक्ता वीरेन्द्र गोइतले ग्यासको आपूर्ति नियमति भइरहेकाले अभाव देखाउने व्यवसायीलाई कारबाही गर्ने बताए । देशभर मासिक करिब ३८ हजार मेट्रिक टन ग्यासको माग हुने गरेकामा ४० हजार मेट्रिक टन आयात भइरहेको उनको भनाइ छ ।

निगमका अनुसार कात्तिक १५ देखि ३० गतेसम्म २० हजार पाँच सय मेट्रिक टन ग्यासको आयात भएको छ । यही अनुपातमा ग्यास आयात गरिएमा मासिक त्यसको दोब्बर आयात हुनेछ । समग्र मुलुकको मागभन्दा बढी ग्यास आयात हुँदा पनि आपूर्तिमा समस्या पाइएकाले बजारको सूक्ष्म अनुसन्धान समेत निगमले थालेको छ ।

अनुसन्धानका क्रममा कुनै पनि डिपोले ग्यासको मौज्दात राखेर उपभोक्तालाई उपलब्ध नगराएको तथा प्रचलित बजार मूल्यभन्दा धेरै पैसा लिएको विषय पुष्टि भएमा डिपोलाई ग्यास बिक्री गर्न नदिने निगमको चेतवानी छ ।

निगमले देशभर रहेका ५७ ग्यास उद्योगमार्फत् मुलुकको मागअनुसारको ग्यास आपूर्ति गरिरहेको छ । अहिले नेपाल–भारत सीमामा देखिएका विवादका कारण बजारमा ग्यासको अभाव हुनसक्ने मनोविज्ञानले पनि सर्वसाधरणले मौज्दात गरेकाले आपूर्तिमा केही समस्या हुन गएको निगमले जनाएको छ । कुनै पनि उद्योग तथा डिपोले सर्वसाधारणलाई नियमित वस्तुको आपूर्ति नगरी कृत्रिम अभाव गराए तत्काल कारबाही गर्ने निगमको भनाई छ ।

पछिल्लो समय ग्यास डिलरले ग्यास प्रयाप्त नआएको भन्दै कृत्रिम अभाव गराउने गरेका छन । सीमा विवादको कारणले गर्दा उपभोक्ताले ग्यास सञ्चय गर्न थालेपछि ग्यास खपत धेरै भएको बुद्धनगरका ग्यास व्यापारी दिनेश थापाले जानकारी दिए । केही दिनदेखि डिलरमा ग्यास कम आएकाले नाम लेखाए पालैसँग ग्यास वितरण गरेको उनको भनाइ छ ।

ग्यासको अभाव हुन सक्ने आशंकामा उपभोक्ताले ग्यास भण्डारण गर्न थालेकाले पनि खपत बढ्दै गएको व्यवसायीको भनाइ छ । चिसो बढेसँगै बजारमा ग्यासको खपत पनि बढ्दै गएको छ ।

प्रकाशित : ८ मंसिर २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह