समाचार टिप्पणी
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आइतबार सामाजिक सञ्जालमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई सम्बोधन गर्दै एउटा संक्षिप्त ‘पत्र’ लेखेः
माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु,
अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ?
मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला । यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।
बालेनले यसअघि प्रायः प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गिरीबन्धु जग्गा प्रकरण लगायतका विषयमा यस्तै टिप्पणी गर्दै आएका थिए । यसपटक भने उपप्रधानमन्त्री सिंह उनको निशानामा परे ।
उपप्रधानमन्त्री सिंहले आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेको भोलिपल्ट आएको बालेनको यो पोष्ट र ति उपलब्धिको फेहरिस्त बीच कुनै साइनो भने छैन । साइनो हुन्थ्यो भने ति उपलब्धिको जगमा टेकेर उनले आलोचना गर्दथे ।
अव्यवस्थित वस्ती हटाउने सन्दर्भमा बालेन यसअघि तत्कालीन गृहमन्त्रीहरुविरुद्ध आलोचना गर्दथे भने अहिले शहरी विकासमन्त्रीतर्फ केन्द्रित हुनु नै प्रकाशमानविरुद्ध उनको आलोचना अर्कै उद्देश्यप्रेरित हो भन्न सकिन्छ ।
बालेनले लेखेको दुई वाक्यले नै यसमा धेरै कुरा बोल्छः मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला । यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।
काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये प्रकाशमानको निर्वाचन क्षेत्रमा जम्माजम्मी ४ वडामात्र पर्दछन् । वडा नं. १०, ११, २९ र ३१ मात्र प्रकाशमानको निर्वाचन क्षेत्रमा पर्दछन् र महानगरका अन्य वडाका तुलनामा विकास निर्माणको रफ्तार यीनै क्षेत्रमा भएकाले बालेनले ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला’ भन्ने भाष्य यहाँनेर जवर्जस्त स्थापित गर्न खोजिएको देखिन्छ ।
राजनीतिक दल र यीनका नेताहरुलाई खलनायीककरण गर्दै आएका बालेनले ‘यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला’ भन्दै प्रकाशमान सिंहलाई सुझाव पनि दिएका छन् ।
प्रकाशमानले मेयर बालेनसँग कांग्रेसको इतिहास कसरी बचाउने भनेर जीवनमा कहिल्यै सुझाव मागेका नहोलान् किनकी प्रजातन्त्रप्रतिको निष्ठा र संघर्षको इतिहास तथा अनुभवका कारणले पनि बालेनले प्रकाशमानलाई सिकाउने हैसियत पटक्कै राख्दैनन् ।
बालेनको खबरदारीसम्म ठिकै हो पनि भन्न सकिएला तर बालेनको पृष्ठभूमि हेर्दा त उनले लोकतन्त्र, मानव अधिकार तथा सामाजिक न्यायलाई महानगरको मेयर भएर जसरी धज्जी उडाइरहेका छन्, त्यसले भने उनी कुनै राजनीतिक दललाई इतिहास सम्झाउन लायक समेत नरहेको मान्न सकिन्छ ।
प्रकाशमान सिंह निश्चय पनि कमजोरीरहित व्यक्ति होइनन् र उनी उच्च क्षमताका राजनेता हुन् भनेर प्रशंशा गर्नुपर्ने आवश्यकता छैन । उनको व्यक्तित्व निर्माणमा स्व. गणेशमान सिंह र मंगलादेवी सिंहको छोरा हुनुले ठूलो भूमिका खेलेको छ भन्न पनि सकिन्छ ।
औषत राजनीतिकर्मीभन्दा बढी अवसर उनले पाएका पनि छन् तर २०४८ र २०५१ को निर्वाचनमा उनले बेहेकोरेको हार र त्यसपछि २०६४ पछिका चार निर्वाचनमा लगातार हात पारेको जीत भने उनको आफ्नै बलबुताको परिणाम हो ।
यसमा उनको मेहनत, जनतासँग भिज्ने क्षमता मात्र नभै तुलनात्मक रुपमा शिक्षित मतदाता भएको निर्वाचन क्षेत्र लगायतका धेरै कारण छन् । उनी संसदमा मात्र नभै पार्टीमा पनि प्रत्यक्ष निर्वाचित महामन्त्री भएका हुनाले बालेनले आरोप लगाएजस्तो पार्टी र अग्रजहरुको इतिहास मेटाउने पात्र पक्कै होइनन् ।
हाल शहरी विकास मन्त्रीका रुपमा पनि उनको काम कारबाही अब्बल नहोला तर उनी असफल होइनन् । विवादास्पद निर्णयबाट टाढा हुनु उनको विशेषता बनेको छ ।
पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा गएका प्रकाशमानले गठबन्धन सरकार चलाउँदा दुई ठूला पार्टीबीच तालमेल र समन्वयमा भने आफूलाई अब्बल सावित गरिरहेको बिर्सनु हुँदैन ।
बालेनले प्रकाशमानविरुद्ध किन आक्रमण गरे भनेर बुझ्न धेरै पर जानै पर्दैन । आइतबार नै उनलाई नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले कार्यपालिका बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गरिएको शंकास्पद कारवाहीको तिर पछिल्लो समय बालेनतर्फ नै सोझिएको छ । प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको बारेमा टुंगोमा पु¥याई संघीय सरकारसँग दूरी घटाउन वडाध्यक्षहरुले जुन तदारुकता देखाए, त्यसले बालेनलाई नै सजिलो बनाउनेछ ।
बालेनलाई महानगर प्रमुखको शक्तिको तुजुक देखाउनु छ भने अर्कै कुरा नत्र वडाध्यक्षहरुले विधिसम्मत रुपमा माग गरेअनुसार कार्यपालिका बैठक आह्वान गरेर समस्याको निकास खोज्नु नै बुद्धिमानी हुन्छ ।
प्रकाशमानलाई गाली गरेको पोष्टमा २ लाख लाइक र १५ हजार कमेन्ट पाएँ भन्दैमा फुरुङ्ग पर्दै बसेर वडाध्यक्षहरुको विधिसम्मत मागलाई पन्छाउन त सकिँदैन है बालेनजी !
प्रतिक्रिया