Logo

अर्थनीति

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूचीमा ?


gdpnepal
   २० चैत्र २०८१, बिहिबार


काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।

सबै बैठक बिहान ११ देखि साढे ११ को बिचमा सिंहदरबारमा सुरु हुनेछन् ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव सङ्कलन तथा छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समिति बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने तयारी छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गर्ने कार्यक्रम छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा गैरसरकारी संघसंस्था, नागरिक समाजलगायतसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन (विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार)का सम्बन्धमा छलफल हुनेछ ।

 

प्रकाशित : २० चैत्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह