Logo

कर्पोरेट-बजार

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि अन्तराष्ट्रियस्तरको प्रर्दशनी केन्द्र आवश्यक: अध्यक्ष अग्रवाल


GDP नेपाल
   २७ चैत्र २०८१, बिहिबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा अन्तराष्ट्रिय स्तरको स्थायी प्रर्दशनी केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा सम्पन्न चेम्बरको ७४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण र निर्यात वृद्धिका लागि एकीकृत प्रर्दशनी संरचना अपरिहार्य रहेको बताएका हुन् ।


अध्यक्ष अग्रवालका अनुसार अन्तराष्ट्रिय स्तरको केन्द्रले गुणस्तर मापनदेखि निर्यात अनुकूलता सुनिश्चित गर्न मद्दत पुग्नेछ ।

उनले भने, “प्रवासी नेपालीबाट भित्रिने रेमिट्यान्सको ९० प्रतिशत उपभोगमै खर्च भइरहेको वर्तमान अवस्थालाई उत्पादनमुखी क्षेत्रमा रुपान्तरण गर्न जरुरी छ ।”


उनले मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यमा उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको पनि बताए । कृषि, जलश्रोत, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी आकर्षित गर्न नीति स्पष्ट पार्नुपर्नेमा उनको जोड थियो । अध्यक्ष अग्रवालले विदेशबाट फर्कने युवाको सीप व्यवस्थापन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने रणनीति आवश्यक भएको धारणा व्यक्त गरे ।
ऊर्जा विधेयक, अदालतको आदेश र बन मन्त्रालयका निर्देशनले जलविद्युत् क्षेत्रमा लगानी र निर्माण अन्यौलमा परेको भन्दै उनले संसदमार्फत कानुनी सुधारको माग गरे ।

धितोपत्र बोर्डले जलविद्युत कम्पनीहरूको आईपीओ रोक्नुका कारण निर्माणमा समस्या देखिएको अध्यक्ष अग्रवालको भनाइ थियो ।
उनले जग्गाको हदबन्दीले औद्योगिक वातावरणमा अवरोध भएको र सहकारी समस्याले साना व्यवसायीलाई मर्का पारेको उल्लेख गरे । कृषि क्षेत्रमा सहुलियत र अनुदान पारदर्शी र लक्षित समूहसम्म पुर्‍याउने व्यवस्थाको मागसमेत उनले गरे ।
सभामा व्यवसायी तथा संस्थाहरूलाई विभिन्न सम्मान प्रदान गरिएको थियो ।

प्रकाशित : २७ चैत्र २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह