काठमाडौं । सरकारले अब मोटरसाइकल चलाउने लाइसेन्स लिन १८ वर्ष पूरा हुनुपर्ने व्यवस्था गर्ने भएको छ । यस्तै, सार्वजनिक सवारीचालकको उमेर हद २५ वर्षसम्म राख्ने विषयमा यातायात व्यवस्था विभागले सरोकारवालासँग छलफल गरिरहेको छ ।
हाल छलफलमै रहेको ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’मा सवारीचालक अनुमतिपत्र पाउने उमेर कम्तिमा १८ वर्ष कायम गर्न आन्तरिक गृहकार्य भइरहेको हो । हाल ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०४९’ कार्यान्वयनमा छ ।
विभागले मस्यौदा गरिरहेको सो ऐन प्रदेश सरकार र सरोकारवाला निकायसँगको छलफल गरी अन्तिम चरणमा रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । विभागले संघीयता तथा अन्य अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर ऐनलाई समयसापेक्ष बनाउन लागिएको जनाएको छ ।
२०४९ को व्यवस्थाअनुसार दुई पाङ्ग्रे सवारीको लागि १६ वर्ष उमेर पूरा गरे पुग्छ भने चार पाङग्रे सवारीको लागि १८ वर्षे उमेरहद छ । ऐनअनुसार अन्य वर्गको सवारी अनुमति पत्र लिन पनि क्रमशः उमेर हद तोकिएको छ । नयाँ ऐनमा दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिन १८ र अन्य सवारीको हकमा क्रमशः बढी उमेर हद कायम गर्ने गरी विभागले आन्तरिक तयारी गरेको छ ।
सार्वजनिक सवारीसाधनलाई अझ जवाफदेही र जिम्मेवार बनाउनको लागि विभागले नयाँ आउने ऐनमा विशेष गृहकार्य गरिरहेको जनाएको छ । सार्वजनिक सवारी चालक र सहचालको शैक्षिक योग्यता, उमेरहद तथा चालकलाई नैतिकवान बनाउने उद्देश्यले केही नयाँ व्यवस्था राख्न लागिएको महानिर्देशक हमालले बताए ।
प्रतिक्रिया