ललितपुर । ललितपुरको भीमसेन मन्दिर पुनर्निर्माणका लागि श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिलाई नेपाल इन्भेष्टमेण्ट बैंकले ५० लाख रुपैयाँ प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बुधबार एक समारोहबीच पुनर्निर्माण सरोकार समितिका अध्यक्ष तथा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजारस्थित भीमसेन मन्दिर स्थानीय व्यापारीहरूको आराध्य देवताको रुपमा पुजिन्छ । पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातिय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन भएको छ । सोही समितिमार्फत स्थानीय तवरबाट नै आर्थिक स्रोत जुटाउने गरि मन्दिरको पुनर्निर्माणको कार्य दु्रतगतिमा भइरहेको छ ।
‘हाम्रो सम्पदा हामी आफैँ बनाऔं’ भन्ने अभियानका साथ मन्दिर पुनिर्नर्माण भइरहेको हो । काठमाडौ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक ४ करोड ९३ लाखको लागत अनुमान गरिएको छ । मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघ संस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तिय संस्था, स्थानीय सरकार, प्रदेश सरकार, सांसदहरूबाट समेत आर्थिक सहयोग प्राप्त भइरहेको अध्यक्ष महर्जनले जानकारी दिए ।
बुधबार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबाट मन्दिर पुनर्निर्माणका लागि उक्त रकम प्राप्त भएको हो । बैंकका अध्यक्ष एवं सम्पदाप्रेमी पृथ्वीबहादुर पाँडेले प्रतिवद्धताअनुरुप हाललाई ५० लाखको आर्थिक सहयोग गरेका हुन् भने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेमार्फत हस्तान्तरण गरिएको जनाइएको छ ।
आर्थिक सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंकको उदारताका लागि हार्दिक धन्यबाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए । ललितपुर उद्योग वाणिज्य संघमा भएको उक्त कार्यक्रममा समितिका सदस्यसचिव मनोजबहादुर न्याछ्यों तथा उपाध्यक्ष किरणमान प्रधानले बैंकको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया