काठमाडौं । नेपाल पर्यटन बोर्डको रिक्त सदस्यमा पर्यटन व्यवसायी कुमरमणि थपलिया र नरेन्द्रदेव भट्ट नियुक्त भएका छन् ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले मन्त्रिस्तरीय निर्णयबाट थपलिया र भट्टलाई पर्यटन बोर्ड सञ्चालक समितिमा नियुक्त गरेका हुन् ।
पाण्डेले थपपिया र भट्टलाई आगामी ३ वर्षको लागि बोर्ड सदस्य नियुक्त गरेर शुक्रबार नियुक्तिपत्र दिएको मन्त्रालयले जनाएको छ ।
नियुक्ति पाएका थपलिया चितवनका हुन् भने भट्ट सुदूरपश्चिमका हुन् ।
पर्यटन मन्त्री पाण्डे सुदुरपश्चिमकै भएका कारण भट्टले नियुक्ति पाएका छन् ।
यद्यपि, भट्ट राजावादी राजनीतिक विचारका राख्ने भन्दै उनको नियुक्तिको आलोचना भैरहेको छ ।
गत महिना राप्रपाले गरेको आन्दोलनमा नेतृ खुश्वु ओलीले लगाएको विभिन्न कान्ड अंकित चर्चित टिसर्टलाई उनले पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
यतिमात्र नभै सरकारको आलोचना र कुलमान घिसिङको समर्थनमा गरिएका पोष्टहरू पनि उनले सामाजिक सञ्जालमा सेयर गरेको देख्न सकिन्छ ।
सरकार र राजावादी आमनेसामने भएका बेला राजावादी विचार बोक्ने भट्टलाई सुदूरपश्चिमकै भएको आधारमा पर्यटन बोर्डमा नियुक्ति दिनुलाई मन्त्री पाण्डेको अपरिपक्वताका रूपमा हेरिएको छ ।
बोर्डका यस अघिका सदस्य मिलन देवकोटा र मदन आचार्यको पदावधि सकिएर रिक्त भएको पदमा थपलिया र भट्ट नियुक्त भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । 











प्रतिक्रिया