विपेन्द्र कार्की/काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमालेका नेताहरुले सोमबार एकसाथ एउटै थिममा पोष्ट गरेका छन् ।
राजनीतिक दलका नेता कार्यकर्तालाई राजावादी र नयाँ दलले ‘झोले’ शब्दले व्यंग्य गर्न थालेपछि त्यसैलाई ब्रान्डिङ गर्दै आक्रमणलाई कमजोर पार्ने उद्देश्यसहित एमाले नेताहरुले आफूलाई ‘म झोले हो’ भनेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै ओलीले भनेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं ।’
ओलीले ‘म झोले हो’ लेखिएको पोस्टर पनि सार्वजनिक गरेका छन् ।
पोस्टरमा लेखिएको छ– एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम हो ।
ओली र एमालेको यो अभियान सिर्जनात्मक भने होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीले अघिल्लो निर्वाचनमै चलाइसकेको एक अभियानको नक्कलमात्र हो ।
नरेन्द्र मोदीको ‘म चौकीदार’ अभियान भारतको राजनीतिमा सामाजिक सञ्जालमार्फत चलाइएको एक प्रभावशाली र प्रतीकात्मक राजनीतिक रणनीति थियो ।
यो अभियान विशेषगरी २०१९ को लोकसभा चुनावअघि भारतीय जनता पार्टी (भा.ज.पा.) ले चलाएको थियो, जसले मोदीको छविलाई सशक्त, इमानदार र भ्रष्टाचारविरुद्ध कठोर नेता भनेर स्थापित गर्ने प्रयास ग¥यो ।
यसको पृष्ठभूमि पनि रोचक छ । चौकीदार अर्थात सुरक्षागार्ड वा रक्षक भन्ने शब्द मोदीले पहिले पनि प्रयोग गर्दै आएका थिए । आफूलाई “देशको चौकीदार“ भन्नु उनका भाषणहरूमा सामान्य थियो ।
तर २०१८–१९ मा कांग्रेसका नेता राहुल गान्धीले राफेल युद्धविमान खरिद प्रकरणमा “चौकीदार चोर है” भन्ने नारा उठाएपछि यो शब्द विवादको केन्द्रमा आयो ।
राहुल गान्धीको आरोपलाई उल्ट्याउँदै मोदीले यसलाई आफ्नो पक्षमा बदल्ने रणनीति अपनाए । सन् २०१९ को मार्चमा “मेँ भी चौकीदार” (म पनि चौकीदार) अभियान सुरु गरियो।
यसअन्तर्गत मोदी लगायत भा.ज.पा. नेताहरूले आफ्नो ट्विटर ह्यान्डलमा “चौकीदार” उपनाम थपे । जस्तैः @narendramodi → @narendramodiChowkidar_
देशभर जनताले पनि यही शैलीमा आफ्नो नाममा चौकीदार जोड्न आह्वान गरियो
एकैदिन लाखौं मानिसले ‘मेँ भी चौकीदार’ पोस्ट गरे, जसले यो अभियानलाई भाइरल बनायो र
प्रचारका लागि विशेष भिडियो, जुलुस, टाउनहोल मिटिङ्स, र डिजिटल माध्यम प्रयोग गरियो र सफल पनि भए ।
जसले मोदीलाई भ्रष्टाचारविरुद्धको प्रतीक बनाउने तथा कांग्रेसको नकारात्मक नारालाई उल्ट्याउने र जनतासँग भावनात्मक जोड बनाउने अभियानका रुपमा सफलता पाएको थियो ।
सामाजिक सञ्जालमा ‘डिजिटल योद्धा’हरू खडा गर्दै गरिएको यो अभियानले भा.ज.पा.लाई चुनावपूर्व जनसमर्थन बढाउन सहयोग गर् यो । अन्ततः २०१९ को लोकसभा चुनावमा भा.ज.पा.ले स्पष्ट बहुमत ल्यायो, जसले अभियानको प्रभावकारीतालाई पुष्टि गर् यो ।
“म चौकीदार” भारतीय राजनीति इतिहासमा एउटा स्मार्ट, रक्षात्मक प्रतिक्रिया अभियानको उदाहरण रह्यो । जसले नकारात्मक नारालाई सकारात्मक रूपमा मोड्ने कौशल देखायो । यसले डिजिटल राजनीति, ब्राण्डिङ र जनसंपर्कको शक्तिलाई प्रस्टसँग उजागर ग¥यो ।
नेपालमा पनि गगन थापाले आफूमाथि अनुदानको खसी बेचेर खाएको आरोप चिर्न खसी चढेको ब्रान्डिङ गरेर यसअघि आफूमाथिको आरोपलाई चिर्ने प्रयास गरेका थिए । यद्यपि, यसले निरन्तरता पाएको छैन ।
भारतीय समकक्षी मोदीको नक्कल गरेका ओलीले झोले अभियानलाई कत्तिको सार्थक र सफल बनाउँछन् भन्ने हेर्न भने बाँकी नै छ ।
उनका पक्षमा साइबर सेना कत्ति परिचालन हुन्छ र तिनले पनि एक्सको ह्यान्डले झोले जोडेर यसलाई प्रभावकारी बनाउन सक्छन् कि सक्दैनन् त्यो भने अहिल्यै भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया