काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि र साना मझौला कर्जामा एनपीएल बढ्नु चिन्ताको विषय भएको बताएका छन् ।
नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आवको मौद्रिक नीतिसम्बन्धी छलफलमा उनले अर्थतन्त्रमा केही न केही समस्या रहेको स्वीकार गर्दै उनले विशेषगरी कृषि र एसएमई क्षेत्रमा खराब कर्जा (एनपीएल) बढेकोप्रति चिन्ता व्यक्त गरे।
‘यी क्षेत्रमा समस्या समाधान नगरेसम्म समग्र आर्थिक स्थायित्वमा असर पर्न सक्छ,’ गभर्नर पौडेलले भने।
उनले २ करोडदेखि ५ करोडसम्मको कर्जामा एनपीएल बढी भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
गभर्नर पौडेलले अहिले मुलुकको अर्थतन्त्रमा लगानीका लागि पर्याप्त रकम उपलब्ध रहेको बताउँदै अहिलेको अवस्थामा लगानीको दृष्टिले ‘बेस्ट अफ टाइम’ रहेको उल्लेख गर्दै यथाशीघ्र कृषि र साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
आगामी मौद्रिक नीति र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा मौद्रिक नीति तथा राजस्व नीति (फिस्कल पोलिसी) बीच समन्वय हुनुपर्ने गभर्नर पौडेलको भनाइ थियो।
उनले अर्थतन्त्र सुदृढ बनाउन वित्तीय तथा मौद्रिक नीतिहरू आपसमा जोडिएर अघि बढ्नुपर्नेमा जोड दिए।
गभर्नर पौडेलले लगानी वातावरण अनुकूल रहेको अवस्थामा कृषि, उद्योग र सेवाक्षेत्रमा निजी क्षेत्रको सहभागिता अझ बढाउनुपर्ने आवश्यकता औंल्याए।










प्रतिक्रिया