काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने तीब्र चाहनामा पार्टीले ब्रेक लगाइदिएको छ।
पार्टी केन्द्रीय कमिटी बैठकले ‘राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन उचित नहुने’ निर्णय गरेर भण्डारीका लागि च्यासलको ढोका बन्द गरिदिएको हो ।
पार्टीको यो निर्णयसँगै पूर्व राष्ट्रपतिको सेवा सुविधा त्यागेकी विद्याले मदन भण्डारी फाउन्डेसनका नाउँमा गुट चलाउने स्थिति बनेको छ ।
कपन भंगालस्थित उनको निवासमा केही चहलपहल देखिए पनि तत्काललाई भने उनले पार्टीका सर्वशक्तिमान अध्यक्ष केपी ओलीलाई चुनौती दिन सक्ने छैनन् ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा दुईदिनसम्म चलेको पार्टीको
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा तीन नेताले असहमति जनाएका थिए । तर, प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए ।
एमालेले भण्डारीलाई पूर्वराष्ट्रपतिकै हैसियत सम्मान गर्ने बैठकको निर्णय छ ।
“पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो,” गौतमले भने, “यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने केन्द्रीय कमिटीले निष्कर्ष निकालेको छ ।”
बैठकले ७० वर्षको उमेरहद र दुई कार्यकालको सीमालाई पनि हटाएर ओलीलाई तेस्रो पटक पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ । भदौमा हुने विधान अधिवेशनले यसलाई अनुमोदन गर्नेछ ।
भण्डारीले मंगलबार दिउँसो आफ्नो निवास भंगालमा केही पत्रकारलाई सदस्यता रिन्यू नहुने परिकल्पना पनि गर्न सक्दिनँ, भन्दै तपाईंहरूले त्यस्तो निर्णय लेख्नु पनि पर्दैन भनेकी थिइन् ।
तर, एमालेको मंगलबार राति सकिएको बैठकले भण्डारीलाई जसरी भए पनि सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको हो ।
एमाले उपाध्यक्ष युवराज ज्ञवाली, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले निर्णयबारे असहमति जनाउँदै फरक मत राखेका थिए ।










प्रतिक्रिया