काठमाडौं । नेपालमा पाँचौं व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी सरकारले दिएको छ । चैत पहिलो सातासम्म एक जना पनि कोरोना संक्रमित नभेटिएको भन्दै प्रचार गरिरहेको सरकारले दोस्रो साताभित्रै पाँचौं संक्रमित फेला परेसँगै यस्तो संक्रमण निकै फैलिसकेको अनुमान गर्न थालिएको छ ।
कोरोना संक्रमणको चर्चा गर्नुपर्दा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितको चर्चा सान्दर्भिक हुन्छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एक जनामा पनि नदेखिएको बताइरहेका बेला दीक्षितले भने शंकास्पद व्यक्तिमाथि कुनै पनि परीक्षण नभएर शून्यको प्रचार गरिरहेको आरोप लगाएका थिए ।
चैत ४ मा उनले सार्वजनिक मञ्चमा यसो भनिरहँदा सोही दिन कतार एयरको जहाजबाट नेपाल फर्किएका दुई युवतीमा कोरोना संक्रमण रहेको पुष्टि भयो । अन्यको खोजी कार्य जारी छ र कतिमा संक्रमण छ भन्ने पत्ता लाग्न बाँकी छ ।
डा. दीक्षितले अफवाह फैलाएको भन्दै कारबाहीको माग सरकारका मन्त्रीहरुले नै गरे । उनलाई पक्राउ गर्ने हल्लासमेत चलाइयो । कतिपय सरकारनिकट पार्टीका पत्रकारहरुमार्फत ‘डा. दीक्षितका छोरा समीरमणि दीक्षितको ल्याबलाई मान्यता नदिइएपछि बाबुले यस्तो हल्ला फैलाएको’ प्रचारसमेत गराइयो ।
यद्यपि, वरिष्ठ चिकित्सक दीक्षितले भनेजस्तै भयो । सीमित परीक्षण गर्दा पनि दिनहुँ एक जनाजस्तोमा संक्रमण भेटिएको छ । चीनबाट किट ल्याएर परीक्षण गर्ने भनिए पनि यसको गुणस्तरीयतामा विश्वभर प्रश्न उठिरहेकाले यसै भन्न सकिने अवस्था भने छैन ।
दुई साताअघिको अवस्था हेर्दा भाइरस परिक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको डा. दीक्षितको आरोप सत्य सावित भइसकेको छ ।
उनले भनेका थिए, ‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन । एउटालाई मात्रै देखिएको थियो नेपालमा त कोरोना भाइरस छदैछैन्, टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त ?’ हुन पनि त्यतिबेलासम्म उनले भनेजस्तै सरकारका मन्त्रीहरु मुलुकलाई कोरोनामुक्त देशको प्रचारमै व्यस्त थिए ।
पछिल्लोपटक बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट १७ मार्च अर्थात् चैत ४ गते नेपाल आएकी उनी १९ वर्षीय महिला भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार फेसबुक लाइभमार्फत दिएका छन् ।
नेपालमा पहिलो संक्रमित व्यक्तिको परिचय गोप्य राखिएको छ र उनी कोरोनाभाइरसको सङक्रमण सुरु भएको स्थान भनिँदै आएको वुहानबाट हिउँदे बिदामा नेपाल आएका नेपाली विद्यार्थी थिए । यद्यपि, उनी उपचार गरेर निको भइसकेको दावी गरिएको छ ।
यस्तै, दोस्रो संक्रमण फ्रान्समा अध्ययनरत भनिएकी र कतार एअरवेजबाट नेपाल आएकी १९ वर्षीय युवतीमा फेला परेको थियो । उनीसँग जहाजमा सँगै यात्रा गरेका करिब ८० जनालाई खोजेर क्वारन्टीनमा जान र एक्लिएर बस्न भनिएको छ।
तेस्रो संक्रमित व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष रहेको बताइएको थियो भने चौथो व्यक्ति पनि विदेशबाट आएका व्यक्ति नै थिए । चौथो व्यक्ति २० मार्चमा भिस्टारा एअरबाट दिल्लीबाट नेपाल आइपुगेका थिए । यूके १५५ फ्लाइट नम्बर हो। दिल्लीमा दुबईबाट इमिरेट्सको उडानबाट आएका हुन् । हाल उनी धनगढीमा उपचाररत छन् ।
प्रतिक्रिया