काठमाडौं । विश्व बैंकले कोरोनाभाइरसका कारण अर्थतन्त्रमा पुगेको क्षतिको प्रारम्भिक आकलन गरेको छ । जसअनुसार एसियाली क्षेत्रमा मात्र २ करोड ४० लाख जनता गरिबीको रेखामुनी रहने जनाइएको छ ।
बैंकको अध्ययनअनुसार कोरोनाभाइरसको प्रभावले पूर्वी एशिया र प्रशान्त क्षेत्रका झण्डै २ करोड ४० लाख मानिसलाई गरिबीबाट पार पाउनबाट रोक्नेछ । उसका अनुसार उद्योगमा आश्रित परिवारहरू बढी प्रभावित हुनेछन् । जसअनुसार थाइल्याण्ड र प्यासिफिक आइल्याण्डको पर्यटन क्षेत्रमा प्रभाव पर्नेछ भने भियतनाम र कम्बोडियाको उत्पादनमूलक उद्योगहरू प्रभावित हुनेछन् ।
विश्व बैंकले स्वास्थ्य सेवाको विस्तार र स्वास्थ्य उपकरणको उद्योगमा लगानी गर्न पनि सुझाव दिएको छ भने प्रभावित परिवारहरूलाई मद्दत गर्न बिरामी विदाको सहुलियत उपलब्ध गराउन प्रस्ताव गर्न उसले भनेको छ ।
विश्व बैंकका अनुसार सबैभन्दा खराब अवस्था आएमा यो संख्या ३ करोड ५० लाख पुग्ने र त्यसमध्ये २ करोड ५० लाख चीनमा गरिबीको रेखामुनि रहन बाध्य हुने उल्लेख गरिएको छ ।
विश्व बैंकको परिभाषाअनुसार दैनिक साढे पाँच डलर वा सोभन्दा कम आम्दानी हुने गरिब हुन् ।
प्रतिक्रिया